जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता, राजसंस्था र सनातन धर्मसहितको राष्ट्रवादी राजनीति अघि बढाउने घोषणा


काठमाडौं ।

‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले सनातन धर्म, राजसंस्था र प्रजातन्त्रलाई आफ्नो राजनीतिक आधारस्तम्भका रूपमा अघि सार्दै संगठन विस्तारको अभियान सुरु गर्ने घोषणा गरेको छ।

पार्टीले हिमाल, पहाड र तराईलाई एकताबद्ध राख्दै राष्ट्रिय गौरव तथा ऐतिहासिक विरासतलाई नयाँ पुस्ता र भावी पुस्तामा हस्तान्तरण गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको जनाएको छ। देशमा राजनीतिक स्थिरता र आर्थिक समुन्नति हासिल गर्नु पार्टीको मुख्य लक्ष्य रहेको पनि उसले स्पष्ट पारेको छ।

पार्टी दर्तापछि जारी सन्देशमा आजकै दिनदेखि संगठन निर्माणको प्रक्रिया अघि बढाउने उल्लेख छ। केन्द्रीय कार्यसमितिसँगै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गरिने पार्टीले जनाएको छ।

राजसंस्था र सनातन धर्ममा विश्वास राख्ने, प्रदेशको पुनर्संरचना चाहने तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनको पक्षमा रहेका सबै नेपालीलाई एकजुट भएर अघि बढ्न पार्टीले आह्वान गरेको छ।

विशेषगरी आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकलाई सम्पर्कमा आउन र पार्टीमा आबद्ध भई तयारीका साथ अघि बढ्न आग्रह गरेको छ।

पार्टीले आफ्नो गठन र दर्ता प्रक्रियामा अहोरात्र खटिएका पार्टीपंक्ति तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै राष्ट्रवादी राजनीतिक शक्तिको निर्माणमा सबैको सहयोग र सद्भाव आवश्यक रहेको जनाएको छ।