एसियाली खेलकुदमा नेपाली बक्सिङको अविस्मरणीय इतिहास: २०औं एसियाडमा इतिहास रच्ने लक्ष्य

0
Shares

रिङभित्रको त्यो रातो र निलो कुना, जहाँ हरेक सेकेन्ड जीवन र मरणको लडाइँझैँ महसुस हुन्छ । नेपाली बक्सिङको कथा पनि तिनै शक्तिशाली मुक्काहरू, अदम्य साहस र कहिल्यै नझुक्ने स्वाभिमानको ज्वलन्त दास्तान हो । एसियाली खेलकुदको विशाल मञ्चमा नेपाली खेलकुदको इतिहास पल्टाउँदा बक्सिङले छाडेको अमिट छाप निकै नै चमकदार छ । कुल छ वटा कांस्य पदकमा आफ्नो नाममा लेखाउँदै बक्सिङले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा एउटा अलग्गै पहिचान, प्रतिष्ठा र स्वाभिमान दिलाएको छ । रिङको बीचमा उभिएर जब कुनै बक्सरले आफ्नो मुठ्ठी कस्छ, त्यहाँ केवल दुईवटा हातको शक्तिमात्र हुँदैन, त्यहाँ एउटा सिंगो देशको आशा, वर्षौंको पसिना र गौरवको कथा गाँसिएको हुन्छ । नेपाली बक्सिङको इतिहास पनि यस्तै रगत, पसिना र स्वाभिमानले लेखिएको एउटा रोमाञ्चक गाथा हो ।

सन् १९८६ को सिओल एसियाड नेपाली बक्सिङको लागि स्वर्ण युगको ढोका साबित भयो । जहाँ नेपाली मुक्काबाजहरूले रिङमा आफ्नो अद्भूत कौशल र अदम्य साहस प्रदर्शन गर्दै अभूतपूर्व इतिहास रचे । दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले एकैपटक चार वटा कांस्य पदक देशको झोलीमा हालेर सारा एसियालाई आश्चर्यमा पारिदिएका थिए । त्यो क्षण केवल पदक जित्नुमात्र थिएन, सीमित स्रोतसाधनका बाबजुद नेपाली वीरहरूले विश्वका शक्तिशाली प्रतिद्वन्द्वीहरूलाई दिनसक्ने कडा टक्कर र अदम्य वीरताको अमर सन्देश थियो । सिओलको त्यो ऐतिहासिक सफलतापछि नेपाली बक्सिङको यात्रा रोकिएन । सन् १९९० को बेइजिङ एसियाडमा चित्रबहादुर गुरुङले ६७ केजी तौल समूहमा पुनः कांस्य पदक जोड्दै नेपाली रिङको दबदबालाई निरन्तरता दिए । बेइजिङको त्यो जितले नेपाली युवाहरूमाझ बक्सिङप्रतिको क्रेज र जोसलाई थप उकास्यो ।

त्यसपछिका वर्षहरूमा अनेकौँ चुनौती, अभाव र उतारचढावहरू आए पनि नेपाली मुक्काबाजहरूको हिम्मत कहिल्यै तोडिएन । लामो पर्खाइपछि सन् २०१० को ग्वाङझाउ एसियाड (चीन) मा ८१ केजी (लाइट हेभीवेट) विधामा हालका राष्ट्रिय प्रशिक्षक दीपक महर्जनले बलिया प्रतिद्वन्द्वीहरुलाई परास्त गर्दै कांस्य पदक दिलाएर नेपाली बक्सिङको राँको पुनः बाले । सन् २०१४ को इन्चियोन एसियाडयता विगत १६ वर्षदेखि एउटा नमीठो पदकको खडेरी व्यहोर्दै आएको भए पनि नेपाली बक्सिङको आत्मबल भने घटेको छैन । इतिहास सधैँ एउटै लयमा बग्दैन । जब निराशाको कालो बादल मडारिन्छ, तब पुनरागमनको एउटा ठूलो आँधी पनि जन्मन्छ । त्यसैले यो खडेरीले नेपाली बक्सिङमा नयाँ क्रान्तिको माग गरिरहेको छ ।

आज नेपाली बक्सिङ पुनः आफ्नो हराएको साख फर्काउनेमात्र होइन विगतमा भन्दा उच्चस्तरको प्रदर्शन गर्न कम्मर कसेर लागेका छन । बितेका १६ वर्ष लामो शून्यतातर्फ पूर्णविराम लगाउन र इतिहासको पानामा स्वर्ण अक्षरले नयाँ अध्याय थप्न पूर्ण तयारीका साथ अघि बढिरहेको छ । आगामी सेप्टेम्बरको तेस्रो साता जापानको आइची–नागोयामा सुरु हुने २०औं एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली मुक्काबाजहरू कडा प्रशिक्षण र वैदेशिक क्याम्पहरूमा अहोरात्र पसिना बगाइरहेका छन् । सन् १९८६ देखि निरन्तर एसियाडमा भिड्दै आएको नेपालको यो एघारौं सहभागिता केवल सहभागितामा मात्र सीमित हुनेछैन । यसपटक बक्सिङको लक्ष्य स्पष्ट छ, कम्तीमा एउटा पदक, र सम्भव भएसम्म स्वर्ण । टिमका हेड कोच राज श्रेष्ठको आत्मविश्वासले टोलीको मनोबल उच्च बनेको छ । “हामीसँग उपाधि जित्ने ठोस आधार छ, त्यसैले हाम्रो लक्ष्य नै पदक जित्नु हो र यसका लागि हामी हर सम्भव प्रयास गर्नेछौँ,” भन्ने उहाँको दृढ भनाइले टोलीमा नयाँ उत्साह भरेको छ ।

नेपाल पुलिस क्लबका स्टार तथा यूएईमा सम्पन्न सन् २०२५ को आईबीए वल्र्ड बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जित्दै ७५ हजार अमेरिकी डलर र अन्तर्राष्ट्रिय सम्मान हासिल गरेका चन्द्रबहादुर थापा यसपटक नेपाली टोलीका मुख्य दाबेदार हुन् । “मनमा कुनै असहजता छैन, विश्व बक्सिङ च्याम्पियनसिपको अनुभवले मलाई अझ बलियो बनाएको छ र जसरी भए पनि पदक जित्ने गरी कडा टक्कर दिनेछु” भन्ने चन्द्रको यो गर्जनले सम्पूर्ण टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको छ । उनीसँगै टोलीमा खगेन्द्र रोका मगर, दानबहादुर दर्लामी, रविन नेपालजस्ता युवा पुरुष बक्सरहरू छन् भने महिलातर्फ रमीशा श्रेष्ठ, अस्मिता दुवाल र कुसुम तामाङले देशको चुनौती पेस गर्दैछन् ।

विगत दुई वर्षभन्दा बढी समयदेखि निरन्तर पसिना बगाइरहेकी रमीशाको लक्ष्य झनै अकासिएको छ । उनी भन्छिन्,–“हामीले दुई वर्षभन्दा लामो मिहिनेत खर्चिएका छौँ, नेपाली समर्थकको आशा बुझेका छौँ, त्यसैले हाम्रो नजर केवल स्वर्ण पदकमा छ ।” चीनमा सम्पन्न एसियाली खेलकुद २०२३ सकिनेबित्तिकै सुरु भएको ‘मिसन २०२६’ अन्तर्गत टोली अहिले काठमाडौँको सीमित स्रोतसाधनको घेराभन्दा माथि उठेर भारतको गुवाहाटीमा ४० दिने विशेष वैदेशिक प्रशिक्षणमा व्यस्त छ । भारतलगायतका अन्तर्राष्ट्रिय रिङहरूमा नेपाली खेलाडीहरूले लिइरहेको उच्चस्तरीय तालिमले उनीहरूमा नयाँ ऊर्जा, प्रविधि र आत्मविश्वास भरेको छ । त्यहाँको कडा प्रशिक्षण सिद्ध्याएर टोली सेप्टेम्बर १९ देखि सुरु हुने एसियाली खेल महाकुम्भका लागि जापान प्रस्थान गर्नेछ ।

काठमाडौंको दशरथ रंगशाला र सातदोबाटोस्थित खेल परिसरको साँघुरो तालिम हलबाट सुरु भएको यो प्रशिक्षण यात्रा, गुवाहाटीको कडा मिहिनेत हुँदै नागोयाको भव्य रिङसम्म पुग्दा नेपाली मुक्काले एसियामा पुनः सनसनी मच्चाउनेछ भन्नेमा सिंगो देश पूर्ण रूपमा विश्वस्त छ । इतिहासले साबित गरिसकेको छ कि नेपाली रगतमा हार मान्ने छुट छैन । रिङभित्रको प्रत्येक प्रहारमा ३ करोड नेपालीको आशा, सपना र गौरव जोडिएको छ । विगतका छ वटा कांस्य पदकहरू केवल इतिहासका पानामात्र होइनन्, ती आगामी दिनमा जितिने स्वर्ण पदकका लागि बलिया र मजबुत जग पनि हुन् । असम्भवलाई सम्भव बनाउने नेपाली बक्सिङको यो गौरवशाली यात्राले नयाँ पुस्तालाई कहिल्यै झुक्न नदिने र निरन्तर लडिरहने प्रेरणा दिइरहनेछ । यो केवल एउटा खेलमात्र होइन, नेपाली खेलकुदको स्वाभिमान पुनर्जाग्रित गराउने र विश्व मञ्चमा देशको झण्डा गर्वका साथ फहराउने एउटा ऐतिहासिक महासंग्राम पनि हो ।