काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टोलीमा फेरि कप्तानमा नियुक्त गरेको छ । क्यानले आगामी सेप्टेम्बर १ देखि मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेबारी दिएको हो ।
चार वर्षअघि केन्या भ्रमणको अघिल्लो दिन बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपको कप्तानी पद छिनेको थियो । यसपछि क्यानले रोहित पौडेललाई कप्तानको भुमिकामा चयन गरेको थियो । सन्दीप २०७९ सालपछि रोहितको स्थानमा नेपाली टोलीका कप्तान बनेका छन् ।
योसँगैं रोहितको कप्तानी दुबै फरम्याटमा रहेन । यसअघि टी २० क्रिकेटका लागि क्यानले दीपेन्द्रसिंह ऐरीलाई कप्तान बनाएको हो । अहिले एकदिवसीय क्रिकेटका कप्तान सन्दीप बनेका छन् ।
सन्दीपको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा १४ खेलमा ४ खेल मात्र जितेको थियो । त्यसमा ९ खेलमा पराजित भएको थियो भने एक खेल ‘टाई’ भएको थियो ।
उनको दाँजोमा रोहित सफल कप्तान हुन् । उनले नेपालका लागि ६३ खेलमा ३१ खेलमा जित दिलाएका थिए । ३० खेलमा भने हार बेहोरेको थियो । दुई खेल रद्ध भएको थियो ।
रोहितलाई विश्वास गरिएन
रोहितको कप्तानीमा क्रिकेट विश्वकप लिग २ अन्तर्गत हाल नेदरल्यान्ड्समा भएको त्रिकोणीय सिरिजमा नेपाल सबै खेलमा पराजित भएको थियो । यो नतिजाले नेपालको शीर्ष चारमा रहने संभावनामा सकियो र सीधै विश्वकप ग्लोबल छनोटमा पुग्ने अवसर पनि गुम्यो ।
यही नतिजापछि रोहितलाई हटाइएको भन्ने चर्चा चलिरहेको छ । तर, यसअघिको २०२३ मा क्रिकेट विश्वकप लिग २ मा उनको कप्तानीमा नेपालले चमत्कारी ढंगले नतिजा आफ्नो पक्षमा पारेको थियो । उनले अन्तिमतिर १२ खेलमध्ये ११ खेलमा जित दिलाउँदैंं नेपाललाई सीधै विश्वकप छनोटमा पु¥याएका थिए ।
अहिले रोहितको लागि अन्तिम सिरिज खेल्न बाँकी रहेको थियो । तर, क्यानले उनीमाथि विश्वास नगरी उनलाई हटाएर सन्दीपलाई कप्तान बनायो । सन्दीपको प्रदर्शन हेर्ने हो भने नेदरल्यान्ड्स भ्रमणमा तीन खेल खेलेकोमा उनी तीनै खेलमा विकेटविहीन हुनुपरेको थियो । उनलाई अन्तिम खेलमा टोलीबाट हटाइएको पनि थियो । तर, अहिले सन्दीपकै जिम्मामा नेपाली टोलीले एकदिवसीय खेल्नु पर्ने भएको छ ।
सन्दीपको लागि अग्निपरीक्षा
सन्दीपको लागि क्रिकेट विश्वकप लिग २ अन्तिम सिरिज अग्निपरीक्षा हुनेछ । यो सिरिजमा नेपालले क्यानडा र ओमानसँग खेल्नेछ । यसमा चारै खेल जित दिलाउन सके सन्दीपलाई कप्तान बनाउनु सहि सावित हुनेछ । यदि, यसमा पनि नेपाली ब्याटिङ संकटमा परेमा क्यानको यो गलत निर्णय हुनेछ ।
आठ राष्ट्र सहभागी लिग २ मा नेपाल अंक तालिकाको सातौं स्थानमा झरिसकेको छ । २४ अंक जोडेको नेपाल अहिले एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्षरत छ ।
भुर्तेल र सोमपाल टोलीमा परेनन्
एसिया कपको छनोटको आधार रहेको प्रिमियर कपका लागि क्यानले चयन गरेको १४ सदस्यीय नेपाली टोलीमा ओपनर कुशल भुर्तेल र मुख्य बलर सोमपाल परेका छैनन् । उनीहरूसँगैं पछिल्लो भ्रमण नेदरल्यान्डस्मा गएको टोलीबाट ६ खेलाडीले स्थान गुमाएका हुन् । जसमा, भुर्तेल, सोमपाल, आरिफ, भीम सार्की, विनोद भण्डारी र नन्दन यादवलाई स्थान दिइएन ।
सन्दीपको कप्तानीमा छनोट भएको १४ सदस्यीय टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा छन् । देव, बसिर, शेर, जोराले नेपाली टोलीमा पुनरागमन गरेका हुन् । प्रिमियर कपमा नेपालले समूह चरणमा बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङको सामना गर्नेछ ।











प्रतिक्रिया