बडीमालिकामा ४जी विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी


काठमाडौँ ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री पुर्‍याएको छ।

सडक सञ्जालको अभाव र भौगोलिक विकटताका कारण स्थलमार्गबाट सामग्री लैजान कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार उपकरण बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो। टेलिकमका अनुसार जडानस्थलमा सामग्री पुगेपछि करिब पाँच दिनभित्र सेवा सञ्चालनमा ल्याउने तयारी छ।

प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माले जानकारी दिनुभयो। करिब चार हजार किलोग्राम उपकरण तथा सामग्री हेलिकप्टरबाट पुर्‍याइए पनि जडानस्थलसम्म ती सामग्री जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो।

बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको छ। यस क्षेत्रमा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने नेपाल टेलिकमको तयारी छ। सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सञ्चार र इन्टरनेट सुविधामा सहजता पुग्ने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाएको जनाएको छ। सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकता दिँदै देशभर करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाएको छ।