मोडल हन्ट नेपालमा परन्तप र लिजा विजेता


मोडल हन्ट नेपाल २०२६ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन्। हालै राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न प्रतियोगितामा शीर्ष विजेता दुवैलाई नगद ५ लाख रुपैया बराबरको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन्।
विजेता भएसँगै उनीहरूले आगामी डिसेम्बरमा कम्बोडियामा हुने मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर गरी तीन विधाको उपाधि जितेका छन्। श्रेष्ठले कमर्सियल मोडलको उपाधिसमेत जितिन्। प्रतियोगितामा मेलतर्फ अनुस्कृत न्यौपाने फस्ट र सुशान्त प्रजापति सेकेन्ड रनर्सअप चुनिए। फिमेलतर्फ प्रियंका ओली फस्ट र खुसी बोहरा सेकेन्ड रनर्सअप घोषित भए। प्रतियोगितामा मस्ट पपुलरको उपाधि मेलतर्फ मनिष ओली र फिमेलतर्फ काया थापाले जिते।

मस्ट स्टाइलिसमा सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटीमा अनुष सक्सेना र उगेश्ना तिमल्सिना विजेता बने। बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइस सुशान्त प्रजापति र प्रियंका ओली, मस्ट फोटोजेनिक सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगर सिम्रन कार्की, कमर्सियल मोडल अनुस्कृत न्यौपाने तथा बेस्ट कन्टेन्ट क्रिएटर सृष्टि न्यौपाने बने।

दशौं सिजनको प्रतियोगिताको निर्णायकमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, राजभाइ सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई रहेका थिए। त्यसै गरी कोरियोग्राफर सविता कार्की र मोन्टर अजय गुरुङ रहेको प्रतियोगितामा मनिष राई, कासा, मस्र्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेट फेसन डिजाइनरतर्फ रहेका थिए।