जेनेभा।
नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपको दोस्रो स्वास्थ्य सम्मेलनमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा प्रा.डा. थापालाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरेका हुन्।
युरोपमा नेपाली स्वास्थ्यकर्मीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि तथा मानसिक स्वास्थ्य र मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धान र योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले बताए।
यो सम्मान प्राप्त गर्ने प्रा.डा. थापा दोस्रो नेपाली स्वास्थ्यकर्मी हुन्। यसअघि सोसाइटीले गत वर्ष पहिलोपटक उक्त सम्मान प्रा.डा. गणेश आचार्यलाई प्रदान गरेको थियो।
काठमाडौंको धापासीमा हुर्किएका प्रा.डा. थापाले बाल्यकालमै दुई वर्षीया बहिनीलाई समयमै उपचार नपाउँदा गुमाएपछि चिकित्सक बन्ने अठोट गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पूरा गरेपछि मानसिक स्वास्थ्यमा विशेष रुचि राख्दै अनुसन्धानलाई आफ्नो व्यावसायिक क्षेत्र बनाए।
उच्च शिक्षाका लागि सन् १९९९ मा नर्वे पुगेका उनले सन् २००६ मा चिकित्सा शास्त्रमा विद्यावारिधि (पीएचडी) पूरा गरेका थिए। हाल उनी नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसरका रूपमा कार्यरत छन् भने सन् २०२० देखि अस्पतालको मेन्टल हेल्थ डिभिजनका अनुसन्धान प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।
मानसिक स्वास्थ्य, मनोचिकित्सा, युद्ध, बसाइँसराइ, शरणार्थी जीवन तथा मानसिक आघातसम्बन्धी विषयमा उनका ५० भन्दा बढी अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन्।
सम्मान ग्रहणपछि प्रा.डा. थापाले नर्वेमा हासिल गरेको ज्ञान, अनुभव र अनुसन्धानलाई नेपालमा उपयोग गर्न चाहेको बताए। उनले विशेषगरी मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान, अध्यापन र सेवा विस्तारका साथै ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य सेवा पहुँच सुधारमा योगदान गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे।
‘नेपालमा मानसिक स्वास्थ्य अहिले पनि ठूलो समस्या हो। यस क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मैले नर्वेमा अनुसन्धान, अध्यापन र स्वास्थ्य सेवाका क्रममा जे सिकेको छु, त्यसलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा अब अझ बढी काम गर्न चाहन्छु।’











प्रतिक्रिया