बलिउडमा अदिती बुढाथोकीकोअर्को छलाङ


अभिनेत्री अदिती बुढाथोकीले बलिउडमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै अभिनेता जहीर इकबालसंग नयाँ म्युजिक भिडियो फरिश्तामा अभिनय गरेकी छन्। भिडियो सार्वजनिक भएसंगै अदिती र जहीरको रोमान्टिक केमेस्ट्री दर्शकमाझ चर्चाको विषय बनेको छ।

जहीर इकबाल बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका पति हुन्। फरिश्ता बोलको गीतमा अदिती र जहीरबीचको प्रेमिल सम्बन्धलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। समुद्री तटका आकर्षक दृश्य, कलात्मक प्रस्तुति र दुवै कलाकारको अभिनयले भिडियोलाई आकर्षक बनाएको छ।

गायक कमल खानको स्वर रहेको गीतको भिडियो फरहाद साम्जीले निर्देशन गरेका हुन्। भिडियोले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
अदिती पछिल्लो समय नेपाली फिल्मसंगै भारतीय म्युजिक भिडियोमा पनि निरन्तर सक्रिय छिन्। नेपाली फिल्म कृ र बाबरीमार्फत अभिनय क्षमता प्रमाणित गरिसकेकी उनले भारतीय संगीत बजारमा पनि आप्mनो छुट्टै पहिचान बनाउँदै आएकी छन्। उनले अभिनय गरेका विभिन्न भारतीय म्युजिक भिडियोले युट्युबलगायत डिजिटल प्लेटफर्ममा करोडौ दर्शक बटुलिसकेका छन्।

नेपाली कलाकारका रूपमा बलिउडमा निरन्तर नयाँ अवसर पाइरहेकी अदितीका लागि फरिश्ता अर्को महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। सार्वजनिक भएको छोटो समयमै म्युजिक भिडियोले १९ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ।