एजेन्सी।
विश्व फुटबलको लामो र गौरवमयी इतिहासमा विभिन्न राष्ट्रहरूले हासिल गरेका सफलताहरूलाई तिनीहरूले जितेका प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरूको आधारमा मूल्यांकन गर्ने गरिन्छ । सिनियर पुरुष राष्ट्रिय टोलीहरूले जितेका फिफा विश्वकप, महादेशीय च्याम्पियनसिपहरू (जस्तैः कोपा अमेरिका, युरो कप, अफ्रिकन कप अफ नेसन्स, र कन्काकाफ गोल्ड कप), फिफा कन्फेडरेसन कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई गणना गर्दा सीमित देशहरूले मात्र लगातार शीर्ष स्थानमा आफ्नो दबदबा कायम राख्न सफल भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरू निश्चित समयको अन्तरालमा मात्र आयोजना हुने भएकाले शीर्ष स्थानमा रहेका टोलीहरूलाई पच्छ्याउन वा भेट्टाउन अन्य राष्ट्रहरूका लागि निकै कठिन हुन्छ । टोलीमा खेलाडीहरूको पुस्ता परिवर्तन भइरहने हुँदा लामो समयसम्म निरन्तर सफलता हासिल गर्नु आफैँमा एक ठूलो चुनौती हो । विश्वकपदेखि महादेशीय कपसम्मका उपाधिहरूले विभिन्न देशहरूको खेलकुद क्षमतालाई झल्काउँछन् । यसै सन्दर्भमा फुटबल सम्बद्ध अन्तर्राष्ट्रिय मिडिया ‘गिभ मी स्पोट्र्स’ का रिपोर्ट अनुसार प्रमुख उपाधिहरूको संख्याका आधारमा विश्व फुटबलका शीर्ष ७ सफल राष्ट्रहरूको विवरण प्रस्तुत गरिएको छ ।
१. अर्जेन्टिना (२२ उपाधि)
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी २२ वटा प्रमुख उपाधिहरू जित्दै अर्जेन्टिना विश्व फुटबलको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिनाको यो विशाल संग्र्रहमा ३ वटा फिफा विश्वकप, कीर्तिमानी १६ वटा कोपा अमेरिका, १ फिफा कन्फेडरेसन कप (१९९२), २ वटा ओलम्पिक स्वर्ण पदक र १ फाइनालिसिमाको उपाधि समावेश छन् । सन् १९८६ मा डीएगो म्याराडोनाले टोलीलाई विश्वकप दिलाउन खेलेको महत्वपूर्ण भूमिकादेखि लिएर पछिल्ला वर्षहरूमा लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले ऐतिहासिक सफलताहरू हासिल गरेको छ । प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ मा आफ्ना चिरप्रतिद्वन्द्वी ब्राजिललाई हराएर कोपा अमेरिका जितेपछि सफलताको नयाँ यात्रा सुरु गरेको थियो । सन् २०२२ मा लियोनल मेसीले आफ्नो खेल जीवनकै पहिलो विश्वकप ट्रफी उचालेका थिए । हालै सन् २०२६ को फिफा विश्वकपको फाइनलमा पुगेर स्पेनसँग पराजित भए पनि अर्जेन्टिना सर्वाधिक अन्तर्राष्ट्रिय ट्रफी जित्ने टोलीको रूपमा शीर्ष स्थानमा कायमै छ ।
२. उरुग्वे (१९ उपाधि)
दक्षिण अमेरिकी महादेशकै अर्को ऐतिहासिक टोली उरुग्वे कुल १९ वटा प्रमुख उपाधिहरू जित्दै सूचीको दोस्रो स्थानमा रहेको छ । उरुग्वेले २ वटा फिफा विश्वकप, १५ वटा कोपा अमेरिका र २ वटा ओलम्पिक स्वर्ण पदक आफ्नो नाममा दर्ता गराएको छ । सानो जनसंख्या भएको राष्ट्र भए तापनि उरुग्वेले फुटबलको इतिहासमा गहिरो छाप छोडेको छ । सन् १९३० मा सम्पन्न पहिलो फिफा विश्वकपको विजेता बनेको उरुग्वेले त्यसको दुई दशकपछि सन् १९५० मा ब्राजिललाई उसैको घरेलु मैदानमा हराउँदै दोस्रो पटक विश्वकप जितेको थियो । बिसौँ शताब्दीभरि उरुग्वेले १४ वटा कोपा अमेरिका उपाधि जितेको थियो । पछिल्ला वर्षहरूमा लुइस सुआरेज र एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडीहरू टोलीमा रहे तापनि सन् २०११ यता उरुग्वेले कुनै ठूलो उपाधि जित्न सकेको छैन । यद्यपि, समर्थकहरू टोली पुरानै स्वर्ण युगमा फर्किनेमा आशावादी छन् ।
३. ब्राजिल (१८ उपाधि)
फुटबलको पर्याय मानिने र इतिहासमै सबैभन्दा बढी ५ पटक फिफा विश्वकप जित्ने कीर्तिमानी टोली ब्राजिल १८ वटा प्रमुख उपाधिसहित तेस्रो स्थानमा छ । पहेँलो र नीलो जर्सीमा मैदान उत्रने ब्राजिलले ५ वटा विश्वकपका साथै ९ वटा कोपा अमेरिका र ४ वटा फिफा कन्फेडरेसन कप जितेको छ । ब्राजिलका महान् खेलाडी पेलेले आफ्नो खेल जीवनमा तीनपटक विश्वकप जितेर देशलाई फुटबलको इतिहासमै सबैभन्दा समृद्ध युगमा पु¥याएका थिए । ब्राजिलले पछिल्लोपटक सन् २००२ मा रोनाल्डोको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकप जितेको थियो । त्यसयता ब्राजिलले केही कोपा अमेरिका र कन्फेडरेसन कपहरू जितेको भए पनि २१ औँ शताब्दीअघिको तुलनामा पछिल्ला दशकहरूमा उसको उपाधि यात्रा केही सुस्त बनेको छ । तैपनि साम्बा शैलीको आकर्षक फुटबलका लागि ब्राजिल सधैँभरि हरेक प्रतियोगिताको प्रमुख दाबेदार मानिन्छ ।
४. मेक्सिको (१३ उपाधि)
उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको सबैभन्दा सफल टोली मेक्सिको १३ वटा प्रमुख उपाधिहरूसहित सूचीको चौथो स्थानमा रहेको छ । मेक्सिकोले क्षेत्रीय स्तरमा आफ्नो वर्चस्व कायम राख्दै १२ वटा कन्काकाफ गोल्ड कप तथा च्याम्पियनसिप उपाधिहरू जितेको छ, जसमध्ये पछिल्लो उपाधि सन् २०२५ मा हासिल भएको थियो । यसबाहेक मेक्सिकोले सन् १९९९ मा फिफा कन्फेडरेसन कपको फाइनलमा ब्राजिललाई रोमाञ्चक ४–३ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक ट्रफी जितेको थियो । सन् २०२५ मा टोलीले आफ्नो पहिलो कन्काकाफ नेसन्स लिगको उपाधि पनि हासिल ग¥यो । विश्वकप प्रतियोगिताहरूमा निरन्तर सहभागी हुँदै समर्थकहरूलाई मनोरञ्जन दिलाए तापनि मेक्सिकोले विश्वकपको मञ्चमा भने उपाधि दाबेदारका रूपमा अगाडि बढ्न अझै संघर्ष गरिरहेको देखिन्छ ।
५. संयुक्त राज्य अमेरिका (१० उपाधि)
ठूलो जनसंख्या र अत्याधुनिक खेल पूर्वाधार भए तापनि संयुक्त राज्य अमेरिका (यूएसए) ले लामो समयसम्म विश्वस्तरीय फुटबल खेलाडीहरू उत्पादन गर्न संघर्ष गर्नु परेको थियो । यद्यपि, क्षेत्रीय प्रतियोगिताहरूमा हासिल गरेको निरन्तर सफलताका कारण अमेरिका १० वटा प्रमुख उपाधिसहित यो सूचीमा पर्न सफल भएको छ । अमेरिकाले ७ वटा कन्काकाफ गोल्ड कप र ३ वटा कन्काकाफ नेसन्स लिगका उपाधिहरू जितेको छ । पछिल्ला वर्षहरूमा लगातार कन्काकाफ नेसन्स लिग जित्नाले टोलीको उपाधि संख्या बढाउन ठूलो सहयोग पुगेको छ । विश्वकपमा अमेरिकाको सबैभन्दा उत्कृष्ट प्रदर्शन सन् १९३० को पहिलो संस्करणमा तेस्रो स्थान हासिल गर्नु नै रहेको छ । क्षेत्रीय रूपमा मेक्सिकोसँगको कडा प्रतिस्पर्धाका कारण अमेरिकाले थप उपाधि जित्ने अवसरहरू गुमाउँदै आएको छ ।
६. जर्मनी (९ उपाधि)
युरोपेली फुटबलको महाशक्ति जर्मनी कुल ९ वटा प्रमुख उपाधिसहित युरोपकै सबैभन्दा सफल टोलीहरूमध्ये एक हो । जर्मनीले ४ वटा फिफा विश्वकप, ३ वटा युरोपियन च्याम्पियनसिप (युरो कप) र १ वटा फिफा कन्फेडरेसन कप (२०१७) जितेको छ । सन् २०१४ मा प्रशिक्षक जोआकिम लोको मार्गदर्शनमा मारियो गोत्जेको निर्णायक गोलको मद्दतले अर्जेन्टिनालाई हराउँदै जर्मनीले चौथो पटक विश्वकप जितेको थियो । जर्मनीले जितेका प्रत्येक विश्वकप उपाधिहरूका बीचमा करिब २०–२० वर्षको अन्तर रहेको छ, जसले जर्मन फुटबलको निरन्तरता र उच्च गुणस्तरलाई प्रमाणित गर्छ । स्पेनसँगै संयुक्त रूपमा सबैभन्दा बढी युरो कप जित्ने कीर्तिमान बनाएको जर्मनी हाल प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा आफ्नो ट्रफी क्याबिनेटमा थप उपाधिहरू जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
७. फ्रान्स (९ उपाधि)
आधुनिक फुटबलको अर्को शक्तिशाली राष्ट्र फ्रान्स पनि कुल ९ वटा प्रमुख उपाधिसहित जर्मनीसँगै बराबरी स्थानमा रहेको छ । फ्रान्सले २ वटा फिफा विश्वकप, २ वटा युरोपियन च्याम्पियनसिप, २ वटा फिफा कन्फेडरेसन कप, १ वटा ओलम्पिक स्वर्ण पदक र सन् २०२१ को यूईएफए नेसन्स लिग जितेको छ । सन् १९९८ मा जिनेदिन जिदानको उत्कृष्ट प्रदर्शनमा पहिलो विश्वकप जितेको फ्रान्सले त्यसको २० वर्षपछि सन् २०१८ मा रुसमा भएको विश्वकपमा केलियन एमबाप्पेजस्ता युवा प्रतिभाको बलमा दोस्रोपटक उपाधि उचालेको थियो । सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्स उपाधि रक्षा गर्नबाट चुकेको थियो । निरन्तर विश्वस्तरीय खेलाडीहरू उत्पादन गरिरहेको हुनाले फ्रान्स हाल युरोप र विश्व फुटबलमै एक प्रमुख शक्तिका रूपमा स्थापित छ ।











प्रतिक्रिया