निर्मला हत्या प्रकरणबारे संसद्मा प्रश्न नउठाउन गृहमन्त्रीको आग्रह


काठमाडौं।

गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नको प्रत्यक्ष उत्तर दिन अस्वीकार गरेका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा आयोजित गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको वर्तमान अवस्था र हत्यारा कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले उक्त विषय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै अनुसन्धान जारी रहेकाले सार्वजनिक रूपमा धेरै कुरा भन्न नमिल्ने बताए। उनले सांसद विश्वकर्मालाई प्रतिप्रश्न गर्दै, “हजुरहरू सत्तामा हुँदा किन गर्न सक्नुभएन?” भने।

गृहमन्त्री गुरुङले संसद्मा यस विषयलाई बारम्बार उठाउँदा पीडित परिवारको घाउ झन् बल्झिने तर्क गरे। “आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत न्याय दिने हो?” भन्दै उनले अनुसन्धान सूक्ष्म ढंगले अघि बढिरहेको दाबी गरे।

उनले निर्मला हत्या प्रकरणसम्बन्धी प्रश्न संसद्मा पटक–पटक नउठाउन आग्रह गर्दै आवश्यक जिज्ञासा भए व्यक्तिगत रूपमा सोध्न अनुरोध गरे। “यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन,” उनले भने।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्न सोध्ने अवसर दिएका थिए। सांसद विश्वकर्माले प्रश्न सोध्नु आफ्नो विधायिकी अधिकार भएको उल्लेख गर्दै पुनः “निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?” भन्ने प्रश्न दोहोर्याए।

अध्यक्ष दाहालले पुनः उत्तर दिन समय दिएपछि गृहमन्त्री गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहन्नँ।”

निर्मला पन्तको हत्या प्रकरण लामो समयदेखि समाधान हुन नसकेको बहुचर्चित घटनामध्ये एक हो। यस घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग निरन्तर उठ्दै आएको छ।