निर्मल पुर्जासहित तीन नेपाली र एक विदेशी आरोहीको शव आधार शिविरमा ल्याइयो

उद्धार अभियान अझै जारी


काठमाडौँ ।

पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८,०५१ मिटर उचाइको विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित चार आरोहीको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ ।

निम्सदाइको कम्पनी एलिट एक्स्पेडले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार अत्यन्त कठिन, जोखिमपूर्ण र प्राविधिक रूपमा चुनौतीपूर्ण उद्धार अभियानपछि निर्मल पुर्जा, चिनियाँ आरोही झोङ वाङ, नेपाली आरोही निमा शेर्पा र किलु शेर्पाको शव सुरक्षित रूपमा आधार शिविर पु¥याइएको हो ।

उद्धार अभियानको नेतृत्व अनुभवी नेपाली पर्वतारोही मिङ्मा डेभिड शेर्पाले गर्नु भएको थियो । सिरबाज खानसहितको उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा उच्च जोखिमका बीच असाधारण साहस, व्यावसायिकता र समर्पणका साथ अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
एलिट एक्स्पेडले पाकिस्तानी सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चआयोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा उद्धारमा सहयोग पु¥याउने सबै निकायप्रति आभार व्यक्त गरेको छ ।

कम्पनीले एक सन्देश जारी गर्दै भनेको छ, ‘निम्सको शव स्वदेश फर्काउनु केवल एक पर्वतारोहीको उद्धार होइन, एक पति, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड परिवारको केन्द्रबिन्दुलाई घर फर्काउने प्रयास हो ।’

कम्पनीका अनुसार निम्स, झोङ, निमा र किलुको पार्थिव शरीर अब अन्तिम संस्कारका लागि आफ्ना परिवारसम्म लैजाने प्रक्रिया सुरु हुनेछ । साथै अझै उद्धार हुन बाँकी रहेका अन्य आरोहीका परिवारप्रति समवेदना व्यक्त गर्दै मौसम अनुकूल हुनेबित्तिकै खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइने छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार यसअघि तीन शव फेला परिसकेका थिए । पछिल्लो चरणमा निम्सदाइसहित थप चार शव उद्धार भएसँगै हालसम्म सात जनाको शव सुरक्षित रूपमा निकालिएको छ । बाँकी आरोहीहरूको शव खोज्ने प्रयास मौसम र भू–अवस्थाले अनुमति दिएसम्म जारी रहने जनाइएको छ । उद्धार सम्पन्न भएका शवहरू मौसम अनुकूल भएपछि स्कर्दुस्थित सैनिक अस्पताल हुँदै सम्बन्धित देश पठाइने तयारी गरिएको छ ।

यही साउन १५ गते ब्रोड पिक आरोहणका क्रममा उच्च शिविर नजिकै ठूलो हिमपहिरो जाँदा विभिन्न देशका १० जना पर्वतारोही सम्पर्कविहीन भएका थिए । ड्रोन तथा स्थल निरीक्षणबाट उनीहरू सबैको मृत्यु भएको पुष्टि भएपछि उद्धार अभियानलाई खोजबाट शव उद्धार अभियानमा रूपान्तरण गरिएको थियो । खराब मौसम, हिमपहिरोको उच्च जोखिम र दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार कार्य निकै कठिन बनेको थियो ।

सन् २०१९ मा विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा ‘निम्सदाइ’को निधनले विश्व पर्वतारोहण समुदाय स्तब्ध बनेको छ । नेपालदेखि बेलायत र पाकिस्तानसम्म उनको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

पाकिस्तानी राजदूतद्वारा गहिरो दुःख व्यक्त

नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका विश्व चर्चित नेपाली आरोही निर्मल पुर्जालगायत छ जना नेपाली आरेहीहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले साहस, धैर्य र समर्पणका साथ विश्वका अग्ला हिमाल आरोहणमा नेपाली आरोहीहरूले पु¥याउँदै आएको योगदानको स्मरण गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा नेपाली पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।

पाकिस्तान दूतावासले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल र पाकिस्तानबीच हिमाल, संस्कृति र जनस्तरको सम्बन्धले विशेष स्थान राख्ने उल्लेख गर्दै यस्ता दुःखद् घटनाले दुई देशका नागरिकबीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले हिमाली आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउन नेपाल र पाकिस्तानबीचको सहकार्यलाई भविष्यमा अझै सुदृढ बनाउँदै लगिने बताउनुभयो ।

कार्यक्रममा जम्मु–कश्मीर विषयको राजनीतिक, कानुनी, कूटनीतिक र रणनीतिक पक्षबारे छलफल गरिएको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री मुहम्मद शहबाज सरिफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारका सन्देशहरू प्रस्तुत गरिएको थियो ।

सन्देशमा जम्मु–कश्मीर विषयको समाधानका लागि कूटनीतिक पहल र संवादको आवश्यकतामा जोड दिइएको थियो । साथै सन्देशमा दक्षिण एसियामा स्थायी शान्ति र स्थायित्वका लागि क्षेत्रीय विषयहरूको शान्तिपूर्ण समाधान महत्वपूर्ण रहेकोमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा राजदूत मोहम्मद आमिर खानले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यका लागि संवाद तथा आपसी समझदारी आवश्यक रहेकोमा जोड दिँदै जम्मु–कश्मीरसँग सम्बन्धित मानवीय र कूटनीतिक पक्षमा पाकिस्तानको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा सहभागीहरूले दक्षिण एसियामा शान्ति र स्थायित्व कायम गर्न भारत र पाकिस्तानबीच रहेका विषयहरू संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए।