रुसद्वारा युक्रेनमा मिसाइल र ड्रोन आक्रमण, २१ जनाको मृत्यु


काठमाडौँ ।

रुसले युक्रेनमाथि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी ठूलो आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार राजधानी कीभ र आसपासका क्षेत्रमा भएको आक्रमण यस वर्षकै सबैभन्दा घातकमध्ये एक हो। कीभ क्षेत्रमा मात्र १७ जनाको मृत्यु भएको छ भने खार्किभमा एक जना र डोनेट्स्क क्षेत्रमा तीन जनाले ज्यान गुमाएका छन्।

आक्रमणपछि प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले पर्याप्त इन्टरसेप्टर मिसाइल उपलब्ध भएको भए धेरै नागरिकको ज्यान जोगाउन सकिने बताएका छन्। उनले सहयोगी राष्ट्रहरूबाट अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर मिसाइलको आपूर्ति यस वर्ष उल्लेखनीय रूपमा घटेको दाबी गरे।

युक्रेनले लामो समयदेखि रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न थप वायु रक्षा प्रणाली र इन्टरसेप्टर मिसाइल उपलब्ध गराइदिन सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ। तर पछिल्लो आक्रमणका क्रममा कुनै पनि ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न नसकिएको युक्रेनी पक्षले जनाएको छ।

जेलेन्स्कीले एन्टी–ब्यालिस्टिक प्रणालीको आपूर्तिमा भएको ढिलाइका कारण ठूलो जनधनको क्षति र व्यापक विनाश भइरहेको बताएका छन्।

यता, रुसी रक्षा मन्त्रालयले भने किभ र त्यस आसपासका रसद केन्द्र तथा सैन्य आपूर्ति केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।-बीबीसी