काठमाडौँ ।
जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले २२ वटा खेलमा कुल १ सय ३६ जना खेलाडी सहभागी गराउने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार नेपाली टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी रहनेछन् । आगामी असोज ३ गतेदेखि सुरु हुने उक्त महाकुम्भका लागि ३२ जना प्रशिक्षकलाई समेत समावेश गरिएको छ ।प्रतियोगितामा क्रिकेट र कबड्डी जस्ता सामूहिक खेलदेखि व्यक्तिगत विधासम्म नेपाली खेलाडीले सहभागिता जनाउनेछन् । जसअन्तर्गत पुरुष क्रिकेट र दुवै कबड्डीतर्फ (पुरुष र महिला) समान १२-१२ जना तथा महिला भलिबलमा १२ जना खेलाडी मैदान उत्रिनेछन् । यसैगरी उसुमा ११ (८ पुरुष, ३ महिला), करातेमा ८ (३ पुरुष, ५ महिला), बक्सिङमा ७ (४ पुरुष, ३ महिला), जुडोमा ६ (३ पुरुष, ३ महिला), टेबलटेनिसमा ६ (३ पुरुष, ३ महिला), एथलेटिक्समा ६ (४ पुरुष, २ महिला) र टेनिसमा ५ (३ पुरुष, २ महिला) खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
त्यस्तै पौडी, गल्फ, सफ्ट टेनिस, ब्याडमिन्टन, आर्चरी, क्यानो स्लालोम, साइक्लिङ, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड, स्क्वास, तेक्वान्दो र कुस्तीमा पनि टोलीको कोटा अनुसार खेलाडी छनोट गरिएको छ । यसअघि चीनको हाङझावमा सम्पन्न १९औँ एसियाडको तुलनामा यसपटक नेपालको सहभागिता र खेलाडी संख्या घटेको छ । हाङझाव एसियाडमा नेपालले २९ खेलमा १२६ पुरुष र १२७ महिला गरी कुल २५३ खेलाडी सहभागी गराएको थियो । उक्त संस्करणमा नेपालले १ रजत र १ कांस्य पदक हात पारेको थियो, जसमा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए ।











प्रतिक्रिया