भारोत्तोलनका टेक्निकल अफिसर समसुद्दीनलाई एनओसीको विदाई


काठमाडौँ ।  

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा ‘इन्टरनेसनल टेक्निकल अफिसर’को भूमिका निर्वाह गर्न उज्बेकिस्तानको तासकेन्ट प्रस्थान गर्न लाग्नुभएका सिद्दिकी समसुद्दिनलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ । 

साउन २२ देखि २९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि तासकेन्ट जान लाग्नुभएका समसुद्दिनलाई एनओसी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रूपमा बिदाइ गरिएको हो । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै एनओसी अध्यक्ष श्रेष्ठले प्राविधिक जनशक्ति खेलकुदको अत्यन्तै महत्त्वपूर्ण खम्बा भएको बताउनुभयो । खेलकुदको मुख्य केन्द्रमा खेलाडीहरू रहने भए पनि यसको समग्र विकास र निष्पक्ष सञ्चालनमा टेक्निकल अफिसर, रेफ्री, प्रशिक्षक, म्यानेजर तथा अन्य सहयोगी प्राविधिकहरूको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।

त्यसैगरी अध्यक्ष श्रेष्ठले नेपाल भारोत्तोलन संघको निरन्तर प्रयासका कारण नै नेपाली टेक्निकल अफिसियलहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्ने अवसर पाइरहेको उल्लेख गर्नुभयो । यसको सम्पूर्ण श्रेय संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई दिँदै उहाँले यस्ता अन्तर्राष्ट्रिय सहभागिताले विश्व खेलकुद मञ्चमा नेपालको उपस्थितिलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठको समेत उपस्थिति रहेको सो कार्यक्रममा समसुद्दिनलाई शुभकामना ब्यक्त गरिएको थियो ।