काठमाडौँ ।
नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचू तामाङ र राजन गुरुङ प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन ।
बुधबार सम्पन्न आ-आफ्नो क्वाटरफाइनल खेलमा जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । त्रिपुरेश्वरस्थित एनआरटीको आफ्नै भवनमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको क्वाटरफाइनलका ‘बेस्ट अफ नाइन’ प्रतिस्पर्धामा दुवै खेलाडीले प्रतिस्पर्धात्मक जित हात पारे । राजन गुरुङले सोम लामालाई ५–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे ।
त्यस्तै, अन्तिम क्वाटरफाइनल भिडन्तमा देशका शीर्ष वरीयता प्राप्त खेलाडी वाङचू तामाङले फुर्बा दोर्जी शेर्पालाई ५–३ को समान फरकले पछाडि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यसअघि मङ्गलबार नै रोहित क्षेत्री र सविन तामाङले आ-आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान बनाएका थिए । अब उपाधि भिडन्तका लागि हुने सेमिफाइनल चरणमा राजन गुरुङले रोहित क्षेत्रीको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा वाङचू तामाङ र सविन तामाङबीच प्रतिस्पर्धा हुनेछ ।











प्रतिक्रिया