काठमाडौं ।
आकर्षक तलबमा वैदेशिक रोजगारी दिलाइदिने प्रलोभन देखाएर बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुली विदेश नपठाई सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा पाँचथर फालेलुङ गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन्। उनले यूएई पठाइदिने भन्दै एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई साउन २० गते काठमाडौं–९ बाट पक्राउ गरिएको हो।
यस्तै, कास्की पोखरा महानगरपालिका–२१ स्थायी घर भई हाल टोखा नगरपालिका–१० बस्ने ३४ वर्षीया कमला पौडेल सुनारलाई रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, नुवाकोट बेलकोटगढी नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं–४ बस्ने ४१ वर्षीय मनोहर मुडभरीलाई मौरिसस पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन १९ गते ललितपुर महानगरपालिका–३ बाट पक्राउ गरिएको छ।
प्रहरीले बाजुरा हिमाली गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं–१४ बस्ने २६ वर्षीय अनिल मल्ललाई कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं–११ बाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार चारै घटनामा हालसम्म चार जना पीडित खुलेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया