काठमाडौं
नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका विश्व चर्चित नेपाली आरोही निर्मल पुर्जालगायत छ जना नेपाली आरेहीहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले साहस, धैर्य र समर्पणका साथ विश्वका अग्ला हिमाल आरोहणमा नेपाली आरोहीहरूले पु¥याउँदै आएको योगदानको स्मरण गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा नेपाली पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।
पाकिस्तान दूतावास बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल र पाकिस्तानबीच हिमाल, संस्कृति र जनस्तरको सम्बन्धले विशेष स्थान राख्ने उल्लेख गर्दै यस्ता दुःखद घटनाले दुई देशका नागरिकबीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले हिमाली आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउन नेपाल र पाकिस्तानबीचको सहकार्यलाई भविष्यमा अझै सुदृढ बनाउँदै लगिने बताउनुभयो ।

कार्यक्रममा जम्मु–कश्मीर विषयको राजनीतिक, कानुनी, कूटनीतिक र रणनीतिक पक्षबारे छलफल गरिएको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री मुहम्मद शहबाज सरिफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारका सन्देशहरू प्रस्तुत गरिएको थियो।
सन्देशमा जम्मु–कश्मीर विषयको समाधानका लागि कूटनीतिक पहल र संवादको आवश्यकतामा जोड दिइएको थियो । साथै सन्देशमा दक्षिण एसियामा स्थायी शान्ति र स्थायित्वका लागि क्षेत्रीय विषयहरूको शान्तिपूर्ण समाधान महत्वपूर्ण रहेकोमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा राजदूत मोहम्मद आमिर खानले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यका लागि संवाद तथा आपसी समझदारी आवश्यक रहेकोमा जोड दिंदै जम्मु–कश्मीरसँग सम्बन्धित मानवीय र कूटनीतिक पक्षमा पाकिस्तानको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । छलफलका क्रममा सहभागीहरूले दक्षिण एसियामा शान्ति र स्थायित्व कायम गर्न भारत र पाकिस्तानबीच रहेका विषयहरू संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए।











प्रतिक्रिया