नेपाली फुटबललाई निलम्बन

मिसन टुगेदरले समस्या समाधान गर्न पहल गरिने


काठमाडौं ।

फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनमा निकास निकाल्न पहल गर्ने बताएको छ । मध्यस्थकर्ताको रूपमा रहने तयार भएको फुटबलर्स मिसन टुगेदरले हाल नेपाली फुटबलमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव राखेको हो । पूर्व खेलाडी, प्रशिक्षक, रेफ्री र अन्य फुटबल अधिकारीहरुको संस्था मिसन टुगेदरले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सम्बोधन गर्दै लेखेको पत्रमा तहगत निर्वाचन वर्तमान समस्याको एकमात्र समाधान रहेको उल्लेख गरेको छ ।

मिसन टुगेदरका अध्यक्ष भिक्टर जबराले पत्रमा फिफाको निलम्बनले पूरा नेपाल स्तब्ध भएको उल्लेख गर्दै समस्या समाधानका लागि नयाँ प्रजातान्त्रिक र पारदर्शी चुनावका लाग नयाँ तदर्थ समिति बनाउनुपर्ने विचार राखेका छन् । उनले निलम्बित एन्फा पदाधिकारीहरुको कार्यकाल सकिइसकेको, उनीहरुको कार्यकाल पूर्णरुपमा असफल रहेको, उनीहरुकै निरन्तरताले समस्या अझ बढाउने लगायतका जिकिर गर्दै समाधानका लागि तदर्थ समिति गठन तथा चुनावी प्रकृया पूरा गर्न मिसन टुगेदर विवादरत सबै पक्षबीच मध्यस्थता गर्न तयार रहेको प्रस्ताब गरेका हुन् ।

एन्फाको गत असारमा सम्पन्न कार्यकाल पूर्ण रुपमा असफल रहेको जिकिरका साथ मिसन टुगेदरले फ्रेस म्यान्डेटलाई समस्या समाधानको एकमात्र उपायका रुपमा प्रस्ताब गरेको छ । मिसन टुगेदरले पहिला जिल्लाको चुनाव गरेर त्यसपछि केन्द्रको गर्नु ठिक हुने पनि उल्लेख गरेको छ ।

फिफाले जिम्मेदारी दिए तदर्थ समितिको नेतृत्व गर्दै निस्पक्ष र पारदर्शी चुनाव गराउनका लागि फुटबलर्स मिसन टुगेदर विवादरत विभिन्न पक्षहरुबीच मध्यस्थता गर्न तयार रहेको पनि बताएको छ ।

एन्फामाथि सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गएको असार ११ गते एन्फालाई अनिश्चितकालिन अन्तर्राष्ट्रिय निलम्बन गरेको थियो । निलम्बनपछि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाइरहेको छैन । हालै पनि आगामी साफ च्याम्पियनसिपको ड्र निकाल्दा नेपाललाई समेटिएको छैन । आयोजकको अनुसार यदि, सेप्टेम्बरसम्ममा फिफाबाट नेपाली फुटबलको निलम्बन हटाउन सकेमा नेपाललाई समेट्ने पनि बताइसकेको छ ।

यसैगरी फिफा तथा एएफसीको सहयोग पनि नेपालले प्राप्त गर्न सक्दैन । यसैगरी कुनै पनि अन्तर्राष्ट्रिय सभासम्मेलन, गोष्ठी तथा तालिमहरुमा पनि नेपालीको सहभागिता हुँदैन ।

यसअघि नेपाली पूर्व खेलाडीहरू हरि खड्का र नवीन न्यौपानेले प्रधानमन्त्री समक्ष नेपाली फुटबललाई बचाउन पहल गरिदिन समेत अनुरोध गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमार्फत् नेपाली फुटबलको निलम्बन हटाउन पहल गरेर साफ च्याम्पियन खेल्ने वातावरण तयार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


फिफासँग संवाद भइरहेको छ–मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताएका छन् । मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको बताएका हुन् । उनले बताए कि अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी भइरहेको छ ।

मन्त्री पोखरेलले अब आउने एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत बताए । मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफुहरूले छोटो समयमै पूरा गरेको पनि बताए । उनले सरकार बनेको चार महिनामै वर्षौसम्म नभएको काम गरेको पनि बताए । उनले १० करोडको नगद पुरस्कारको घोषणा गर्नु खेलकुदमा सबै जना खुशी देखिएको पनि बताए ।