काठमाडौँ उपत्यका नर्सको प्रदर्शन


काठमाडौँ, (नेस) ।

साउन १४ गतेदेखि नर्सको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्यलगायतका १५ बुँदे माग राख्दै अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थन र अनसनप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौँ उपत्यकाका नर्सले प्रदर्शन गरेका छन् ।

ज्योति रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै अनसनको छैटौँ दिनमा अरू नर्सले पनि ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । नर्सको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्यलगायत विभिन्न माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था दिनप्रति दिन कमजोर भइहेको र हाल वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

नेपालमा नर्सको तलबभत्ता, सेवासुविधा, वृत्तिविकासलगायतमा रहेका समस्या समाधान गर्नका लागि विगतमा सरकारसँग सम्झौता भए पनि सोको कार्यान्वयन नभएको अवस्थामा देशभरका नर्सहरू ठूलो अन्यायमा परेको प्रदर्शनमा उत्रिएका नर्सले जनाएका छन् । यो आन्दोलनको डेन्टल साइनन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल, नेपाल सिएमए संघले समर्थन र ऐक्यबद्धता जनाएका छन् ।