काठमाडौँ ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलवार मन्त्री पदबाट राजीनामा दिएपछि हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यलाई उक्त स्थानमा नियुक्त गरिएको छ ।
नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री बज्राचार्यले मंगलवार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथग्रहण गराउनुभएको हो । प्रदेश सरकार अल्पमतमा रहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्य विभाजन गर्दै बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।
सत्ता साझेदार एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार यसअघि नै अल्पमतमा परेको थियो । संविधानअनुसार सरकारले भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । यही बिचमा सत्ता टिकाउने प्रयासस्वरूप मुख्यमन्त्री बानियाँले बज्राचार्यलाई मन्त्री बनाउनु भएको हो । यसअघि मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको निरन्तरताका लागि भन्दै एमाले, नेकपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र हानेपासँग औपचारिक रूपमा समर्थन माग्दै पत्राचार गर्नुभएको थियो ।











प्रतिक्रिया