सरकारी जग्गामा रहेका क्याम्पस
–त्रिवि शिक्षण अस्पताल–१६२ रोपनी– भैरवनाथ गण
–पाल्पाको बतासेडाँडा–१९७ रोपनी– सरकारी
–महेन्द्ररत्न क्याम्पस ताहाचल–३८ रोपनी– सरकारी स्वामित्व
–सानोठिमी क्याम्पस १८७ रोपनी– सरकारी स्वामित्व
–रारा बहुमुखी क्याम्पस जनकपुर– स्थानीय मोही
–महेन्द्र विन्देश्वरी क्याम्पस सप्तरी– स्थानीय मोही
–पोखरा वन क्याम्पस २०० रोपनी– सरकारी स्वामित्व
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले करिब एक हजार रोपनी सरकारी जग्गामा त्रिवि शिक्षण अस्पताल र केही क्याम्पस सञ्चालन गरेको खुलेको छ । त्रिविको स्वामित्वमा रहेको जग्गा फिर्ता ल्याउने तयारी गरेको समयमा सरकारी जग्गा कहिले फिर्ता गर्ने भन्ने प्रश्न उठेको छ । पछिल्लो तथ्याङ्कअनुसार धनुषाको रामस्वरूप राम सागर (रारा) बहुमुखी क्याम्पस र सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसमा जनता मोही रहेको जग्गाबाहेक करिब एक हजार रोपनी सरकारी जग्गा भोगचलन गरेको छ ।
४० वर्षदेखि नेपाली सेनाको स्वामित्वमा रहेको १६२ रोपनी जग्गा त्रिविले भोगचलन गरेको छ । २०४० सालमा शिक्षण अस्पताल खुलेको हो । त्यसअघि वि.सं २०३९ पुस ७ गते त्रिविलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । हालसम्म निर्णय कार्यान्वयन हुन सकेको छैन ।
क्याबिनेटले गरेको त्यसबेलाको निर्णय कार्यान्वयन हुन नसक्दा त्रिवि शिक्षण अस्पतालले भोगचलन गरेको जग्गा कसको हो भनी निर्णय गर्न समस्या छ । त्रिवि प्रशासन भन्छ– सरकारले निर्णय नगरेको कारण समस्या बढेको हो । टिचिङ अस्पतालको मात्र होइन ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसको ३२ रोपनी जग्गा सरकारको नाममा छ ।
सानोठिमी क्याम्पसको १८७ रोपनी जग्गा सरकारको नाममा छ । पाल्पाको बतासेडाँडास्थित जग्गामा त्रिविको संरचना छ । त्यो जग्गा पनि आफ्नो नाममा आउन सकेको छैन । कास्की पोखरास्थित शान्ति बाटिका वनमा त्रिविले वन क्याम्पस सञ्चालन गरेको छ । वनको सो जग्गा पनि सरकारकै हो । पोखरा वन क्याम्पसले करिब २ सय रोपनी जग्गा भोगचलन गरेको छ ।
त्रिवि प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले सबै जग्गा त्रिविको स्वामित्वमा ल्याउने पहल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– सबै जग्गा त्रिविकै हो, भोगचलनको समस्या समाधान गर्ने चरणमा छौँ ।’ यसअघि त्रिविले राजधानीलगायत देशका विभिन्न क्षेत्रमा रहेको जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको थियो । त्रिविले आफ्नो जग्गा फिर्ता लिन कठिन भइरहेको बेला कसरी सरकारी जग्गा आफ्नो स्वामित्वमा लिने भन्ने विषय पेचिलो बनेको छ ।
त्रिविका उपकुलपति प्राडा भोला थापाले त्रिविको स्वामित्वमा रहेको र सरकारी जग्गामा त्रिविको संरचना रहेको विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कुन जग्गा कसको स्वामित्वमा छ, त्रिविले कसको जग्गा प्रयोग गरिरहेको छ भन्ने विषयमा अध्ययन गर्नेछौँ ।’ उहाँले त्रिविको सबै जग्गाको विषयमा अध्ययन भइरहेको बताउनुभयो ।
तथ्याङ्कअनुसार त्रिविको ५ हजार ५० रोपनी क्षेत्रफल जग्गा थियो । तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको प्रतिवेदनमा उल्लेख छ । कीर्तिपुरमा मात्र ३ हजार ६१३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५ सय रोपनी जमिन त्रिविले भोगचलन गरेको देखिएको छ ।
त्रिविले आफ्नो जग्गा खाली गर्ने सार्वजनिक सूचना दिइरहँदा सरकारी जग्गा त्रिविले भोगचलन गरेको विषयमा सरकार मौन छ । त्रिविले सरकारी जग्गाको स्वामित्व आफ्नो नाममा ल्याउने तयारी गरेको छ ।
त्रिविले करिब चार महिनाअघि वैशाख ४ मा गते सार्वजनिक सूचना जारी गरेर १९ निकायलाई जग्गा खाली गर्न पत्र पठाएको थियो । हालसम्म खाली गर्न सकेको छैन । उपकुलपति थापाले जग्गा फिर्ता गर्ने निर्णय कार्यान्वयन गरिने बताउनुभयो । त्रिविले नेपाल प्राध्यापक संघ, त्रिवि कर्मचारी संघलगायतलाई लिजमा दिएको जग्गा फिर्ता गर्ने क्रम जारी राखेको बताउनुभयो ।
त्रिविले ल्याबोरेटोरी माध्यमिक विद्यालय, बीपी कोइराला मेमोरियल प्लानेटोरियम एन्ड अब्जरभेटरी सेन्टर, नेपाल नेत्रज्योति संघ, आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र, राधास्वामी सत्संग व्यास नेपाल, नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ र ग्लोबल आइएमई बैंक छन् ।
त्यस्तै नेपाल क्रिकेट संघ, कृषि बागबानी केन्द्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, कृषि बागबानी केन्द्र, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल विद्युत् प्राधिकरण छन् । पत्र पठाएकामध्ये धेरै सरकारी निकाय छन् । सरकारी निकायको जग्गा उपभोग गरिरहेको त्रिविले आफ्नो जग्गाको स्वामित्व लिने विषयमा पहल गरिरहेको छ ।











प्रतिक्रिया