गजुरी छेपाङकी  पाँचदिने  सुत्केरीको कथा: कहिले श्रीमानले चामल ल्याउलान् र खाना पकाउलान् ? 

0
Shares

धादिङ।

धादिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङ बस्तीकी २१ वर्षीया अञ्जली तामाङ पाँच दिनअघि पहिलो सन्तानकी आमा बनिन्। 

अर्काकाे घर, पातलाे च्यादरमाथि पाँचदिने सुत्केरी, ज्यालाबाट फर्किने श्रीमानकाे बाटाे हेरीरहेकी अन्जली तामाङ पाेशिलाे खानेकुरा भन्दापनि पेटभरी खाने अन्नकाे प्रतिक्षामा हुनुहुन्छ ।

सामान्यतया सुत्केरी महिलालाई आराम, पोषिलो आहार, न्यानो ओछ्यान र परिवारको स्याहार आवश्यक हुन्छ। तर अञ्जलीको जीवनमा यीमध्ये कुनै पनि सुविधा छैन।उनको नवजात शिशु एउटा पातलो च्यादरमाथि सानो थाङ्नामा सुतिरहेको छ। बच्चालाई फेर्नका लागि  कपडा छैन। आफूले ओढ्ने–ओछ्याउने पनि पर्याप्त छैन। सुत्केरी अवस्थामा शरीरलाई आवश्यक पोषण त परको कुरा, बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ।

श्रीमान् पूर्णबहादुर तामाङ दैनिक ज्यालादारी मजदुरी गरेर परिवार पाल्छन्। काम पाइयो भने घरमा चामल र तरकारी आउँछ, काम नपाए चुलो नै बल्दैन। अहिले घरमा दुई माना चामल र थोरै आलु मात्र बाँकी छ। अञ्जली दिनभरि श्रीमान् कहिले ज्याला सकेर फर्केलान् र केही खानेकुरा ल्याउलान् भन्ने आशामा बाटो हेरेर बस्छिन्। श्रीमान् फर्किएपछि मात्र  ल्याएकाे सामानले खाना पाक्छ र त्यसपछि मात्रै पेट भरिन्छ। पाेषण भन्दापनि पेट कसरी भर्ने भन्ने चिन्ता कुन घर छाडेर हिड्नु पर्ने हाे भन्ने कहालीलाग्दाे भविस्यले अंजली सानै उमेरमा अतालिनुभएकाे छ ।

परिवारसँग आफ्नै जग्गा–जमिन छैन। हाल उनीहरू माइलो बुबाको छोराले केही समयका लागि बस्न दिएको सानो घरमा आश्रित छन्। पुर्णबहादुरका बुबा र आमा दुवै अपाङ्गता भएका व्यक्ति भएकाले उनीहरूबाट आर्थिक वा शारीरिक सहयोगको अपेक्षा गर्न सक्ने अवस्था पनि छैन। घर वरिपरि खेतीपाती गर्ने जमिन छैन, आम्दानीको एक मात्र आधार श्रीमानकाे दैनिक ज्याला हो।

समाजमा आर्थिक अवस्था राम्रो भएका परिवारमा सुत्केरी भएपछि अस्पतालबाट घर फर्किएलगत्तै पोषिलो खानाको व्यवस्था हुन्छ। कुखुराको सुप, मासु, दूध, घ्यू, फलफूल र अन्य पौष्टिक परिकार नियमित रूपमा खुवाइन्छ। चिसो नलागोस् भनेर विशेष हेरचाह गरिन्छ, तेल मालिस गरिन्छ, नवजात शिशुको स्याहारका लागि परिवारका सदस्यहरू सधैं साथमा हुन्छन्।तर, अञ्जलीको यथार्थ बिलकुलै फरक छ। उनीसँग न पर्याप्त लुगा छ, न पोषिलो खाना, न आरामदायी ओछ्यान। 

नवजात शिशुको उचित स्याहारका लागि आवश्यक आधारभूत सामग्रीसमेत अभावमा छन्। सुत्केरी अवस्थामा महिलालाई चाहिने पोषण र विश्राम नपाउँदा आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

यो एउटा परिवारको मात्र कथा होइन, दुर्गम र विपन्न समुदायमा अझै पनि धेरै सुत्केरी महिलाले आधारभूत आवश्यकता पूरा गर्न नसकिरहेको यथार्थको प्रतिनिधि चित्र हो। सुरक्षित मातृत्वका कार्यक्रम सञ्चालन भइरहेका भए पनि आर्थिक रूपमा कमजोर परिवारसम्म पोषण, सामाजिक सुरक्षा र समुदायस्तरको सहयोग प्रभावकारी रूपमा पुग्न नसकेको देखिन्छ।

अञ्जली तामाङको परिवारलाई अहिले सबैभन्दा बढी आवश्यक छ । नवजात शिशुका लागि कपडा, सुत्केरी आमाका लागि पोषिलो खाद्यान्न, न्यानो ओछ्यान र केही समयका लागि आर्थिक सहारा। पाँच दिनअघि नयाँ जीवनलाई संसारमा ल्याएकी अञ्जलीको सबैभन्दा ठूलो आशा अहिले श्रीमान् ज्याला गरेर घर फर्कने बाटो र साँझको चुलो बल्ने प्रतीक्षामै सीमित छ।