विदेश अध्ययन गर्नेलाई लक्षित गर्दै नबिल बैंकले सुरु गर्‍यो ‘एजुकेशन हब’


काठमाडौं ।

नबिल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ।

उक्त हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरे। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

बैंकका अनुसार एजुकेशन हबबाट विदेश अध्ययनका लागि जाने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध गराइनेछ।

नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन र बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए। उनले शिक्षा क्षेत्रमा गरिने लगानी व्यक्ति मात्र नभई परिवार, समाज र राष्ट्रको भविष्य निर्माणसँग जोडिने भएकाले यस किसिमको सेवा सुरु गरिएको बताए।

उनले देशभर रहेका बैंकका शाखाहरूमा समेत एजुकेशन हबसम्बन्धी सेवा विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले एजुकेशन हबको सुरुवातले नेपाल र अष्ट्रेलियाबीच शिक्षाको माध्यमबाट जनशक्तिमा लगानी गर्ने सम्बन्धलाई थप बलियो बनाउने बताए। उनले विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र वित्तीय सेवा प्रदायकबीच विश्वासको वातावरण निर्माण गर्न यस्ता पहल महत्वपूर्ण हुने उल्लेख गरे।

नबिल बैंकले विद्यार्थीलाई वित्तीय सहायता मात्र नभई विदेश अध्ययन प्रक्रियाका विभिन्न चरणमा आवश्यक पर्ने विशेषज्ञ सेवा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार हबबाट शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना तथा आवश्यक बैंकिङ मार्गदर्शन एकीकृत रूपमा प्रदान गरिनेछ।

बैंकका सञ्चालक अनन्त पौड्यालले विद्यार्थी र अभिभावकको बदलिँदो आवश्यकता सम्बोधन गर्न एजुकेशन हब स्थापना गरिएको बताए। उनका अनुसार यो सेवा शिक्षा कर्जामा मात्र सीमित नभई विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सहजीकरण प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको विशेषीकृत सेवा पहिलो पटक सुरु गरिएको दाबी गरे। उनले विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि कर्जा, विदेशी मुद्रा, वित्तीय योजना र परामर्श सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्य रहेको बताए।

बैंकका अनुसार एजुकेशन हबमा शैक्षिक बैंकिङसम्बन्धी विशेषज्ञ टोली रहनेछ। टोलीले विद्यार्थी तथा अभिभावकलाई छिटो, सहज र विशेषीकृत सेवा उपलब्ध गराउनेछ।

नबिल बैंकले शिक्षा कर्जामा अध्ययन अवधिभर उपलब्ध हुने मोरेटोरियम सुविधाले विद्यार्थीलाई नियमित किस्ता भुक्तानीको दबाबबाट राहत दिई अध्ययन र करियर निर्माणमा केन्द्रित हुन सहयोग पुग्ने जनाएको छ।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।