पूँजी बजार र बैंकिङ क्षेत्रबारे लगानी फोरम आयोजना हुँदै


काठमाडौं ।

नेपालको पूँजी बजार र बैंकिङ क्षेत्रको वर्तमान अवस्था, चुनौती, समाधान तथा आगामी सम्भावनाबारे छलफल गर्न बाआमा कन्सल्टेन्ट सर्भिस प्रा. लिमिटेडले लगानी फोरम आयोजना गर्ने भएको छ।

‘नेपालको पूँजी बजार र बैंकिङ क्षेत्र : वर्तमान परिदृश्य, चुनौती, समाधान र छोटो बिक्री तथा इन्ट्राडे ट्रेडिङको भविष्य–जोखिम वा नयाँ अवसर ?’ विषयमा आयोजना हुने फोरम आगामी शनिबार (श्रावण २३) गते अर्थात् (८ अगस्ट २०२६) मा काठमाडौंमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार फोरममा करिब २०० जना लगानीकर्ता, व्यापारी, वित्तीय क्षेत्रका पेशेवर, उद्यमी तथा बजारसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहनेछ।

कार्यक्रममा पूँजी बजार विश्लेषक अजित खनाल, भूराजनीतिक विश्लेषक तथा पूर्वाधार उद्यमी अरुण सुवेदी, वित्तीय अर्थशास्त्री, लगानी बैंकर तथा वित्तीय सल्लाहकार मुक्ति अर्याल वक्ताका रूपमा सहभागी हुनेछन्। यस्तै, भेटेरन बैंकर तथा वित्तीय सल्लाहकार परशुराम कुँवर क्षेत्रीको सहभागिताका लागि पनि पहल भइरहेको आयोजकले जनाएको छ।

बामा कन्सल्टेन्टका अनुसार फोरमको उद्देश्य लगानीकर्ता, वित्तीय संस्था, बजार विश्लेषक तथा व्यवसायीबीच ज्ञान आदानप्रदान गर्ने र लगानीसम्बन्धी सूचनामूलक संवादको वातावरण तयार गर्नु हो।

फोरममा नेपालको पूँजी बजारको पछिल्लो अवस्था, बैंकिङ क्षेत्रका चुनौती, लगानीका अवसर, जोखिम व्यवस्थापन, नीतिगत व्यवस्था तथा बजारमा देखिएका नयाँ अभ्यासबारे विज्ञहरूले धारणा राख्नेछन्।

आयोजकले फोरम कुनै पनि कम्पनीको शेयर खरिद–बिक्री सिफारिस गर्ने वा निश्चित प्रतिफलको ग्यारेन्टी गर्ने उद्देश्यले आयोजना नगरिएको स्पष्ट पारेको छ। कार्यक्रम डेटा आधारित विश्लेषण, लगानी शिक्षा र जिम्मेवार लगानी निर्णयमा केन्द्रित हुने जनाएको छ।

फोरममा मुख्य प्रस्तुति, विज्ञ प्यानल छलफल र सहभागी अन्तरक्रिया हुनेछन्। प्यानल छलफलमा बजारको वर्तमान अवस्था, उदीयमान प्रवृत्ति, नियामकीय पक्ष, जोखिम व्यवस्थापन र नेपालको पूँजी बजारका सम्भावनाबारे छलफल गरिनेछ।

बाआमा कन्सल्टेन्टले यस्तो कार्यक्रमले लगानीकर्ता, वित्तीय संस्था, बजार विज्ञ तथा व्यवसायीबीच सहकार्य र सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।