विश्वकै वृद्ध बिरालोले मनायो जन्मदिन


बेलायतको ग्रेटर म्यानचेस्टरमा बस्ने मिल्ली नामकी बिरालोले हालै आफ्नो ३१औँ जन्मदिन मनाएकी छिन्। उनका मालिक लेस्ली ग्रीनहफले मिल्ली अहिले विश्वकै सबैभन्दा वृद्ध जीवित बिरालो भएको दाबी गरेका छन्।

सन् १९९५ मा जन्मिएकी मिल्लीलाई लेस्लीकी दिवंगत श्रीमतीले तीन महिनाको हुँदा घरमा ल्याएकी थिइन्। अहिले ७१ वर्षीय लेस्लीका अनुसार मिल्लीको लामो आयुको रहस्य प्राकृतिक खनिज पानी, मनपर्ने खाना र भरपूर माया हो। उनी भन्छन्, “मिल्लीले पछिल्लो १० वर्षदेखि खनिज पानी मात्र पिउँछिन्। उनलाई सामन माछा, झिँगा, कुखुराको मासु र टुना निकै मनपर्छ।”

३१औँ जन्मदिनका अवसरमा मिल्लीलाई कुखुराको विशेष परिकार खुवाएर जन्मदिन मनाइएको थियो। उमेर बढेसँगै उनी पहिलेभन्दा शान्त र लजालु बनेकी छन्। बेलायतमा बढेको गर्मीका कारण उनलाई आराम मिलोस् भनेर घरमा पङ्खा चलाइने र पानीमा बरफसमेत राखिने गरिएको मालिकले बताएका छन्।

लेस्लीले मिल्लीको नाम गिनिज विश्व कीर्तिमानमा दर्ता गराउने इच्छा व्यक्त गरेका छन्। तर उनको जन्ममिति प्रमाणित गर्ने आधिकारिक कागजात नहुँदा दर्ता प्रक्रिया कठिन बनेको छ। उनीसँग सन् १९९५ मा खिचिएको एउटा पुरानो तस्बिर मात्र प्रमाणका रूपमा रहेको बताएका छन्।यद्यपि गिनिज विश्व कीर्तिमानले हालसम्म बेलायतकै ‘फ्लोसी’लाई विश्वकै सबैभन्दा वृद्ध प्रमाणित जीवित बिरालोका रूपमा मान्यता दिएको छ। त्यसैले मिल्लीको विश्वकै सबैभन्दा वृद्ध बिरालो भन्ने दाबी अझै आधिकारिक रूपमा पुष्टि भएको छैन।

स्रोत : गुड न्युज नेटवर्क, एओएल यूके।