अमेरिकाको नर्थ क्यारोलिनाकी ३६ वर्षीया अधिवक्ता चेस जोनसनले आफ्नी पाल्तु कुकुरको असामान्य व्यवहारका कारण समयमै स्तन क्यान्सर पत्ता लागेर आफ्नो ज्यान बचेको बताएकी छन्। यो प्रेरणादायी घटना अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ।
जोन्सनका अनुसार उनको ल्याब्राडोर–रिट्रिभर मिश्रित जातको कुकुर सेटोकेही सातादेखि असामान्य रूपमा चिन्तित देखिन्थ्यो। उसले बारम्बार उनको देब्रे स्तनमा नाकले घोच्ने, नजिकै बसेर कराउने र ध्यान खिच्ने प्रयास गरिरहन्थ्यो। सुरुमा उनले यसलाई सामान्य व्यवहार ठानेर बेवास्ता गरिन्।
तर कुकुरले लगातार एउटै ठाउँमा संकेत गरिरहेपछि उनले आफैं स्तन जाँच गरिन्। त्यस क्रममा सानो गाँठो महसुस भएपछि चिकित्सककहाँ पुगिन्। विभिन्न परीक्षणपछि उनलाई ट्रिपल–नेगेटिभ स्तन क्यान्सर भएको पुष्टि भयो, जुन स्तन क्यान्सरको सबैभन्दा आक्रामक प्रकारमध्ये एक मानिन्छ।
रोग समयमै पत्ता लागेकाले उनले किमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया तथा लिम्फ नोड हटाउने उपचार गराइन्। लामो उपचारपछि उनी अहिले क्यान्सरमुक्त भएकी छन्।
जोन्सनले यसअघि पनि यही कुकुरले उनका श्रीमान्को स्वास्थ्यमा आएको असामान्य परिवर्तन संकेत गरेको र पछि उनलाई कोलोन क्यान्सर भएको पत्ता लागेको बताएकी छन्। त्यसपछि उनले कुकुरको असामान्य व्यवहारलाई कहिल्यै बेवास्ता नगर्ने बताएकी छन्।
वैज्ञानिकहरूका अनुसार कुकुरको सुँघ्ने क्षमता अत्यन्त तीक्ष्ण हुने भएकाले केही अवस्थामा क्यान्सरबाट निस्कने विशेष रासायनिक गन्धसमेत पहिचान गर्न सक्ने सम्भावना रहेको अध्ययनहरूले देखाएका छन्। यद्यपि चिकित्सकहरूले कुकुरको व्यवहारलाई चिकित्सकीय परीक्षणको विकल्प मान्न नहुने र शरीरमा कुनै असामान्य परिवर्तन देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने सुझाव दिएका छन्।











प्रतिक्रिया