काठमाडौं ।
सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भई उपचाररत रहेका रवीन्द्र मेहताको मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
२२ वर्षीय मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकका परिवारजनले गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल पुगेर आफ्ना माग सम्बोधन नगरेसम्म शव नउठाउने अडान लिएका छन्। उनीहरूले अस्पताल परिसरमै गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै विरोधसमेत जनाएका छन्।
आफन्तहरूको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउ नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको तथा गोली चलाउनेको पहिचान सार्वजनिक नभएकाले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताएका छन्।
यता, घटनाको विरोधमा सुनसरीको कप्तानगञ्ज क्षेत्रमा पनि प्रदर्शन भएको छ। स्थानीयले सडकमा रुख ढालेर आवागमन अवरुद्ध पारेका छन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यस क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।











प्रतिक्रिया