उदयपुर ।
उदयपुरमा बहुलाहा कुकुर, बाँदर, स्याल,बिरालो लगायतका जनावरले टोक्दा त्यसका विरुद्ध लगाइने सुई रेबिज भ्याक्सिनको जिल्लाका सबै पालिकाका अस्पताल र स्वास्थ्य संस्थामा चरम अभाव भएको छ ।
अहिले जिल्ला अस्पतालमा वा जिल्लाका विभिन्न स्थानमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिज प्रभावित वा लागेका बिरामीहरु उपचारकालागि पुगेमा उपचार नपाई त्यसै फर्कनु पर्ने अवस्था रहेको छ । उदयपुरको चारबटै नगरपालिका त्रियुगा, कटारी,बेलका र चौदण्डीगढी तथा पहाडी क्षेत्रमा रहेका रौतामाई, ताप्ली, उदयपुरगढी तथा लिम्चुङबुङ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा समेत यसको अभाव रहेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका कार्यालय प्रमुख रामनरेश ठाकुरका अनुसार रेबिज र एन्टी स्नेक भेनम केन्द्रबाट सिधै सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रमा पठाउने नीति रहेकोले स्वास्थ्य कार्यालयमा नरहेको अवस्था छ ।
स्वास्थ्य प्रमुख ठाकुरले केन्द्रबाट सिधै अस्पतालमा पठाउने भएकोले यसको विवरण स्वास्थ्य कार्यालयमा नरहने हुँदा जिल्लाका पालिकागत अस्पताल तथा स्वास्थ्य संस्थाले माग गरेपछि केन्द्रले पठाउने गरेको बताउन भयो ।
यस विषयमा उदयपुर जिल्ला अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. मुकेश कुमार झाका अनुसार रेबिजको भ्याक्सिन उदयपुरमा मात्र होइन देशभरिनै समस्या भएको र अहिले यदि कोही त्यस्ता बिरामी आएमा उपचारमा समस्या हुन्छ । तर अहिले यस्ता खाले बिरामी पनि अस्पतालमा उपचारकालागि नआएको र यदि बिरामी आएमा सहजताकालागि स्टकमा राख्नु पर्ने हुन्छ । तर स्टकमा पनि छैन । प्रदेश सरकारसँग माग गरिएको तर नआएको डा झाको भनाई छ ।
डा. झाले रेविजबाट प्रभावित बिरामी आउने सम्भावना रहने भएकोले केन्द्रमा माग पठाइएको भए पनि हालसम्म रेबिजको सुई प्राप्त नभएको तर स्नेक एन्टी भेनम भने अस्पतालमा उपलब्ध रहेको बताउनु भयो ।
यस विषयमा कटारी अस्पतालका प्रमुख डा.सन्तोष साहले केही समय पहिले रेबिज भ्याक्सिन ल्याएको तर अहिले एक जनालाई पुग्ने मात्र स्टकमा रहेको छ । यो सकिएपछि रेविजका बिरामी आएमा जिल्ला अस्पतालमा वा उक्त भ्याक्सिन उपलब्ध हुने सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने बताउनु भयो ।
यस अघि बिराटनगरबाट ३० भाइल रेबिजको भ्याक्सिन प्रदेश सरकारले उपलब्ध गराएकोले ल्याइएको थियो । यो भ्याक्सिन केन्द्र सरकारले खरिद गरेर अस्पतालहरुमा वितरण गर्नू पर्ने हो । तर गत वर्षदेखि नै केन्द्रबाट प्राप्त नभएकोले प्रदेश सरकारले खरिद गरेर माग अनुसारको उपलब्ध गराउन नसक्दा अभाव हुन गएको डा. साहको भनाई रहेका छ ।
यस विषयमा त्रियुगा नगर अस्पतालका डा. निरज कुमार चौधरीले रेबिजको भ्याक्सिनको अभाव निकै समयदेखि भएको जानकारी दिंदै तीन महिनादेखि कोशी प्रदेश सरकारले नपठाएको हुँदा रेबिज लागेका बिरामी आएमा उपचार गर्न असमर्थ हुने बताउनु भयो ।
डा. चौधरीले स्नेक एन्टी भेनम नगर अस्पतालमा नपाइने तर नजिकै रहेको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित रहेको नेपाली सेनाको १८ नं बाहिनी अड्डामा उपचार र भ्याक्सिन दुबै पाइने बताउनु भयो ।
बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत विनोद मिश्रले हाल रेबिजको भ्याक्सिन बेलका नगर अस्पतालमा छैन । तर बाहिरबाट खरिद गरेर ल्याएर खरिद मूल्य मै बिक्री गरेर सेवा दिने गरेको र सरकारले निःशुल्क उपलब्ध गराउने भ्याक्सिनको अभाव भएको हो । प्रदेश सरकारसँग माग गरेको तर नआएको बताउनु भयो ।
चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत छैठौ तहका हिमालय पौडेलले रेबिज भ्याक्सिन जेष्ठ महिनादेखि नभएको र स्ेनक बाइट भेनम भने रहेको बताउनु भयो ।
उदयपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयनारायण राय यादवले नेपाल सरकार र प्रदेश सरकारले पालिकास्तरमा रेबिज तथा स्नेक बाइट भ्याक्सिन उपलब्ध नगराउने जानकारी दिंदै त्यस्ता बिरामी आएमा माथिल्लो निकायमा रेफर गर्ने गरेको बताउनु भयो ।
रोतामाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले स्वास्थ्य केन्द्रले रेबिज तथा स्नेक वाइट भेनम प्रयोग गर्न नपाउने हुँदा त्यस्ता बिरामीहरु आएमा जिल्लामा रेफर गर्ने गरिएको र यो दुबै भ्याक्सिन चिकित्सकको निगरानीमा प्रयोग गरिने हुँदा ग्रामिण क्षेत्रका स्वास्थ्य केन्द्रमा उपलब्ध नहुने बताउनु भयो।
यसैगरी लिम्चुङबुङ गाउँपालिकाका स्वास्थ्य प्रमुख कर्णसेर राईले निजी पसलले किनेर ल्याएर बिक्री गर्ने गरेको जानकारी दिंदै सरकारले उपलब्ध गराउने निःशुल्क भने उपलब्ध नभएको बताए । यसैगरी ताप्ली गाउँपालकाका स्वास्थ्य शाखा प्रमुख राजेश दनुवारले रेबिज लागेका बिरामी आएमा जिल्लामा रेफ गर्ने गरेको र कसैले किनेर लगाउन चाहेमा पसलमा खरिद गर्न पाइने बताउनु भयो ।











प्रतिक्रिया