दुर्घटनामा घाइते साथीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ


काठमाडौं ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु प्र ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका करिब २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारू भने दुर्घटनापछि सम्पर्कविहीन भएका थिए।

घटनापछि प्रहरीले थालेको खोजी तथा अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा थारूको शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामा रहेका थारूलाई उपचारका लागि लैजानुको सट्टा चालक जैसीले निर्माणाधीन घरमा प्रयोग गरिएको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि मृतकले लगाएको माला/डोरी प्रयोग गरी घाँटी कसेर हत्या गरेको र शव सिँचाइ नालामा फालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न आरोपित गोविन्द जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।