चार महिनामा ४५ हजार मेट्रिक टन कम आयात हुँदा ग्यास अभाव : ग्यास उद्योग संघ


काठमाडौं ।

एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव र उपभोक्ताले लाइनमा बसेर पनि ग्यास नपाइरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले मंगलबार जारी गरेको अपिलमा पछिल्लो समय ग्यासको माग बढेपछि विभिन्न स्थानमा उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएको उल्लेख गर्दै समस्या समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

संघका अनुसार विगतमा तेस्रो मुलुकमा उत्पन्न अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) ग्यास वितरण गरिएको थियो। अहिले अन्तर्राष्ट्रिय परिस्थिति सामान्य बन्दै गएको, ग्यास आयात नियमित भएको र उपभोक्ताको माग पनि पुनः १४.२ केजीको भरिएको सिलिन्डरतर्फ रहेकाले पुरानै प्रणालीअनुसार पूर्ण सिलिन्डर वितरण सुरु गरिएको जनाएको छ।

संघले आयात नियमित भइरहे पनि बजारमा अभाव देखिनुको मुख्य कारण पछिल्ला चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डर वितरण हुनु तथा उपभोक्ताले ग्यास अभाव हुने आशंकामा सबै खाली सिलिन्डर एकैपटक भर्न खोज्नु रहेको उल्लेख गरेको छ।

यस्तै, बजार सहज बनाउन नेपाल आयल निगम, ग्यास उद्योग, विक्रेता र उपभोक्ताले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने संघको भनाइ छ। कम्तीमा एक महिनाका लागि पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न, विक्रेतालाई पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न तथा उद्योगलाई नियमित रूपमा बजारमा ग्यास आपूर्ति गर्न आग्रह गरिएको छ।

संघले बजार सहज नहुन्जेल नेपाल आयल निगमले नियमित आवश्यकताभन्दा बढी ग्यास आयात गर्नुपर्नेमा पनि जोड दिएको छ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सबै पक्षको सहकार्य भए छोटो समयमै बजार सहज हुने विश्वास व्यक्त गर्दै ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न र आवश्यकताअनुसार मात्रै ग्यास लिन सम्पूर्ण उपभोक्तासँग अपिल गरेका छन्।