काठमाडौं ।
सन् २०२६ को जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । विशेषगरी चिनियाँ पर्यटकको आगमनमा उल्लेखनीय विस्तार देखिएपछि मनसुनको मध्ययाममा समेत नेपालको पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या सन् २०२५ को सोही अवधिको ७० हजार १९३ जनाको तुलनामा २.३ प्रतिशत बढी हो । वर्षायामका कारण सामान्यतः पर्यटक आगमन कम हुने समय मानिने जुलाईमा पनि आगमन वृद्धिदर सकारात्मक रहनुलाई पर्यटन क्षेत्रले उत्साहजनक उपलब्धिका रूपमा लिएको छ ।
यस अवधिमा सबैभन्दा उल्लेखनीय वृद्धि चिनियाँ पर्यटक आगमनमा देखिएको छ । जुलाईमा चीनबाट ११ हजार ९९ पर्यटक नेपाल आएका छन्, जबकि गत वर्ष यही महिनामा यो संख्या ६ हजार ८९० थियो । यसले वार्षिक रूपमा ६१.०९ प्रतिशतको वृद्धि जनाउँछ ।
नेपाल आउने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत बजारका रूपमा कायम रहेको छ । जुलाईमा भारतबाट २३ हजार ४९० पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको ३२.७३ प्रतिशत हो ।
भारतपछि अमेरिकाबाट ७ हजार ७५४ पर्यटक आएका छन् । त्यसै गरी बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ तथा अस्ट्रेलियाबाट २ हजार ४२८ पर्यटक नेपाल आएका छन् ।क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट जुलाईमा २९ हजार ७५५ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ४१.४६ प्रतिशत भए पनि अघिल्लो वर्षको तुलनामा ११.९३ प्रतिशतले कम हो ।
सार्क मुलुकमध्ये भुटानबाट ९९१, श्रीलंकाबाट ५८१, पाकिस्तानबाट ४७५ र माल्दिभ्सबाट ३९ पर्यटक नेपाल आएका छन् । यता दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट भने पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ । जुलाईमा यस क्षेत्रबाट १७ हजार ४२४ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.०५ प्रतिशत बढी हो ।
चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ पर्यटक नेपाल आएका छन् ।
जुलाई महिनामा युरोपेली मुलुकबाट ९ हजार २७९ पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको १२.९३ प्रतिशत हो ।
युरोपेली बजारमध्ये बेलायतबाट सबैभन्दा धेरै ३ हजार ७७३ पर्यटक आएका छन् । त्यसपछि जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ तथा रुसबाट ४६७ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यसै गरी अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसिनियाबाट २ हजार ६७, मध्यपूर्व (खाडी क्षेत्र) बाट ७३६ तथा अफ्रिकी मुलुकबाट ३२४ पर्यटक नेपाल आएका छन् ।
पछिल्लो सात महिनामा ६ लाख ९२ हजार २२८ जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो सात महिनामा भित्रिएका पर्यटक गत वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत अर्थात ४४ हजार ३४६ जनाले पर्यटक बढेका छन् । तथ्यांकअनुसार पछिल्लो सात महिनामा नेपाल आएका पर्यटकध्ये सबैभन्दा बढी मार्च महिनामा आएका छन् । उक्त महिनामा १ लाख २० हजार ५१६ पर्यटक भित्रिएका छन् । यो अवधिमा सबैभन्दा कम जुलाई महिनामा ७१ हजारमात्रै आएका छन् ।











प्रतिक्रिया