काठमाडौं, (नेस) ।
प्रशिक्षक तथा पूर्व खेलाडी नवीन न्यौपानेले प्रधानमन्त्रीसँग नेपाली फुटबललाई पुनः अन्तर्राष्ट्रिय मैदानमा फर्काउने वातावरण बनाउन आग्रह गरेका छन् ।
साफ च्याम्पियनसिप २०२६ मा नेपालको पुरुष फुटबल टोलीको सहभागिता अन्योलमा परेपछि न्यौपानेले प्रधानमन्त्रीलाई नेपाली फुटबल प्रतिबन्ध हटाउन पहल गर्न आग्रह गरेका हुन् ।
राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक रहेका न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै साफ च्याम्पियनसिप नेपाली फुटबलका लागि विश्वकप सरह रहेको उल्लेख गरेका छन् । उनले फिफा निलम्बनका कारण फुटबलमा लागेका सबैको भविष्य प्रभावित हुने भन्दै खेल्ने वातावरण मिलाइदिन सराकारसँग अनुरोध गरेका हुन् ।
यस्तै, नेपाली पुरुष फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले पनि नेपाली फुटबलको प्रतिबन्ध हटाउन सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह दिएका छन् ।
हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रावधिक निर्देशक पदमा रहेका खड्काले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
फिफाबाट निलम्बनका कारण हजारौं नेपाली खेलाडीहरुको भविष्य अन्योलमा परेको उल्लेख गर्दै खड्काले समयमै समाधान खोजिएन भने नेपालले साफ च्याम्पियनसिपसँगै अन्य प्रतियोगिताहरु पनि गुमाउनु पर्ने बताए ।
शनिबार भुटानको थिम्पुमा सम्पन्न साफ च्याम्पियनसिप २०२६ को ‘ड्र’अनुसार नेपाली टोलीलाई समावेश गरिएको छैन । फिफाले सेप्टेम्बर १ भित्र एन्फामाथिको निलम्बन फुकुवा गरे नेपाल समूह ए मा पर्नेछ । जसमा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।
तोकिएको समयभित्र निलम्बन नहटे नेपाल प्रतियोगितामा हुने छैन र पहिलो पटक नेपालविना साफ च्याम्पियनसिप आयोजना हुनेछ ।
साफ च्याम्पियनसिपको १५औं संस्करण आगामी कार्तिक १८ देखि ३१ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । साबिक विजेता भारतसँगै माल्दिभ्स र पाकिस्तान समूह ‘बी’मा छन् ।











प्रतिक्रिया