काठमाडौं, (नेस) ।
नेपाल भलिबल संघ (एनभीए) ले आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघले राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रमसहित कुल १९ वटा कार्यक्रम समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
वार्षिक कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । त्यसपछि १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौंमा हुनेछ भने ११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग को स्थान पछि तय गरिनेछ ।
यस्तै, सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल, एभरेष्ट महिला फ्रेन्चाइज लिग (इभिएल) तथा एनभीएल पुरुष नेपाल भलिबल लिग (एनभिएल) पनि वार्षिक कार्यक्रममै समावेश छन् । एनभिएल पुरुष लिग काठमाडौंमा भदौ महिनामा आयोजना गर्ने योजना छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ नेपाली महिला टोलीले जापानमा हुने २०औँ एसियाली खेलकुद मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सेप्टेम्बरमा भुटानमा काभा काभा बीच भलिबल टुर, नोभेम्बर १ देखि ७ सम्म काठमाडौंमा काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा च्यालेन्ज कप (पुरुष) आयोजना गर्ने कार्यक्रम छ । मालदिभ्समा काभा बीच भलिबल टुर तथा काभा यू–१६ भलिबल च्याम्पियनसिप पनि क्यालेन्डरमा समावेश गरिएको छ ।
यसैगरी, यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप पनि आयोजना गरिने कार्यक्रम रहेको छ । केही प्रतियोगिताको स्थान भने पछि तय गरिने संघले जनाएको छ ।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपालमा अन्य देशको तुलनामा भिसाको समस्या नहुने हुँदा नै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । उनले नेपाल सबै देशका लागि तटस्थ भेन्युको रूपमा रहेको हुनाले पनि सबै जसो देशले नेपालमा खेल्ने चासो देखाउने गरेको पनि बताए ।











प्रतिक्रिया