यूईएफएको असहमतले इन्फान्टिनोलाई धक्का


लन्डन, (एजेन्सी) ।

चौथोपटक विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष पदमा रहिरहने जियानी इन्फान्टिनोको लक्ष्यमा धक्का लाग्ने सम्भावना बढेको छ । विश्वकप जस्ता प्रतियोगितामा निजी लगानी भित्र्याउने फिफाको महत्वांकाक्षासँग युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले असहमत जनाएपछि नै उनको लक्ष्य सफल नहुने देखिएको हो ।

आगामी मार्चसम्म इन्फान्टिनो पदमा कायम रहे चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचन लड्न सक्नेछन् । त्यसका लागि २११ सदस्यमध्ये कम्तीमा १०६ मत आवश्यक हुनेछ । यूईएफएसँग सर्वाधिक ५५ मत रहेको छ ।

त्यस्तै, अफ्रिकासँग ५४, एसियासँग ४६, कन्काकाफसँग ३५, ओसियानियासँग ११ र कन्मेबोलसँग १० मत रहेको छ । यसअनुसार इन्फान्टिनोलाई यूईएफएले मात्रै मत नदिएपनि अन्यमा अफ्रिका, कन्मेबोल र ओसियानियाले भने उनको योजनालाई आलोचना गरेका छैनन् । यहीबाट उनले चौथो पटक फिफा अध्यक्ष बन्न आवश्यक मत लिन सक्ने अवस्था पनि छ ।

यता, फिफा परिषद्का ३७ सदस्यमध्ये १९ जनाले माग गरेमा आपत्कालीन बैठक बोलाएर इन्फान्टिनोको भविष्यबारे निर्णय लिन सकिने सम्भावना पनि बढेको छ । यससँगै फिफा र युईएफएबीचको विवाद थप गहिरिँदै गएको छ ।

युईएफएले उक्त योजनाविरुद्ध कानुनी कारबाहीको चेतावनी समेत दिइसकेको अवस्था छ । फिफाले विश्वकपलगायत आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक युईएफएले इन्फान्टिनोलाई पठाएको पत्रमा उक्त योजनासँग सम्बन्धित सबै कागजात, इमेल, सन्देश, बैठकका विवरण तथा अन्य डिजिटल अभिलेख सुरक्षित राख्न निर्देशन दिँदै आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।

यसै क्रममा युरोपेली फुटबलतर्फ वेल्स, सर्बिया र फिनल्यान्डका फुटबल संघहरूले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिइसकेका छन् । यस्तै इंग्ल्यान्ड फुटबल संघ (एफए) ले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिसकेको छ । तर, एसियाली फुटबलतिर भने कतार, लेबनान, कुवेत र श्रीलंकाले फिफाको वर्तमान नेतृत्वलाई निरन्तर समर्थन गर्ने भएका छन् ।

इन्फान्टिनोले यसअघि फिफाका २ सय ११ सदस्य संघलाई पत्र लेख्दै ती प्रस्तावको समर्थन गरे प्रत्येक संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराइने बताएका थिए । प्रारम्भिक २ करोड डलर प्राप्त गर्न सेप्टेम्बर १९ भित्र समर्थन जनाउनुपर्ने समयसीमा तोकिएको थियो ।