सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ आई–सोलुसन प्रणालीको सुभारम्भ


काठमाडौं।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ।

काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो नयाँ डिजिटल आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट (Version Next)’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति र व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको शुभारम्भ गरेका थिए। कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित उक्त प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन सहयोग गर्नेछ।

कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। हास्य कलाकार सुन्दर खनालले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले कम्पनीको भावी रणनीति, नेतृत्व विकास र बीमा व्यवसायको विस्तारका विषयमा धारणा राख्दै उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रथम बीमा शुल्क संकलनतर्फ बुटवल शाखा देशकै उत्कृष्ट शाखा घोषित भएको कम्पनीले जनाएको छ। यस्तै, भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने अभिकर्ताका रूपमा सम्मानित भएका छन्।

कम्पनीका अनुसार यस्ता सम्मान कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिलाई थप प्रेरित गर्नुका साथै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह र संस्थागत उत्कृष्टतालाई सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिइएको छ।