काठमाडौं ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नेपालगञ्जले ठूलो परिमाणमा खैरो हेरोइन बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक जना यसअघि पनि खैरो हेरोइन मुद्दामा सजाय भुक्तान गरिसकेका पटके कारोबारी रहेको खुलेको छ।
ब्युरोका अनुसार भारतको बाह्रपंखी क्षेत्रबाट खैरो हेरोइन खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्दै आएको सूचनाका आधारमा विशेष निगरानीपछि सोमबार (२०८३ साउन १८ गते) बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ३० वर्षीय सुसिल भण्डारी र ५५ वर्षीय अरुण कुमार जयसवाल पक्राउ परेका हुन्।
प्रहरीले प्रारम्भिक कारबाहीका क्रममा उनीहरूको साथबाट १५३.९५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो। त्यसपछि अनुसन्धानको क्रममा अरुण कुमार जयसवालको घरमा खानतलासी गर्दा कोठाभित्र रहेको दराजमा लुकाएर राखिएको थप ४२५ ग्राम खैरो हेरोइन फेला परेको ब्युरोले जनाएको छ।
यससँगै प्रहरीले उनीहरूको नियन्त्रणबाट कुल ५७८.९५० ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, नेपाली रुपैयाँ १ लाख ८० हजार र भारतीय रुपैयाँ २ लाख १४ हजार समेत बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद गरिएको नगद र अन्य सामग्री लागुऔषध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।
पटके कारोबारी फेरि पक्राउ
अनुसन्धानका क्रममा पक्राउ परेका अरुण कुमार जयसवाल यसअघि पनि खैरो हेरोइन मुद्दामा पक्राउ परेका व्यक्ति रहेको खुलेको छ। प्रहरी अभिलेखअनुसार उनी २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। उक्त मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका जयसवाल पुनः लागुऔषध कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँके मा बुझाइएको छ। प्रहरीले उनीहरूको भारत–नेपाल सीमापार लागुऔषध सञ्जाल र सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई समेत तीव्र बनाएको जनाएको छ।











प्रतिक्रिया