काठमाडौं।
लिट्मस इन्डस्ट्रिज लिमिटेडले देशभरका करिब २०० च्यानल पार्टनर (डिलर) को सहभागितामा चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ।
कम्पनीका अनुसार हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रमको उद्देश्य कम्पनी र डिलर नेटवर्कबीचको सहकार्यलाई थप सुदृढ बनाउनु, उत्कृष्ट कार्यसम्पादनको सम्मान गर्नु तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्नु रहेको थियो।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्राबारे प्रस्तुति दिँदै कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, प्रमुख उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराइएको थियो। साथै अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन र विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने प्रतिबद्धता पुनः व्यक्त गरिएको कम्पनीले जनाएको छ।
यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई ‘राइजिङ स्टार’, ‘पेमेन्ट एक्सिलेन्स’ तथा ‘लिट्मस एक्सिलेन्स अवार्ड’ लगायत विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तरमा कम्पनीले कहिल्यै सम्झौता नगर्ने बताएका छन्। उनले लिट्मसका लागि गुणस्तर ब्रान्डको आधार र ग्राहकप्रतिको प्रतिबद्धता भएको उल्लेख गर्दै देशभर फैलिएको च्यानल पार्टनर नेटवर्कको योगदानले कम्पनीलाई नयाँ प्रविधि अपनाउन, उत्पादनको गुणस्तर कायम राख्न तथा दीर्घकालीन विकासतर्फ अघि बढ्न प्रेरित गरेको बताए।
कम्पनीका अनुसार ‘पावर पार्टनर्स मिट २०८३’ ले साझेदारसँगको सम्बन्ध थप मजबुत बनाउनुका साथै साझा मूल्य सिर्जना, नवप्रवर्तनको प्रवर्द्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी कम्पनी हो। कम्पनीले एल्युमिनियम तथा एलोय रड उत्पादनसमेत गर्दै आएको छ।











प्रतिक्रिया