अंकित मूल्यमै सेयर उपलब्ध गराउन इप्पानको जोड


काठमाडौं।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको साधारण सेयर (आईपीओ) प्रतिकित्ता सय रुपियाँ अर्थात् अंकित मूल्यमै उपलब्ध गराउन आफ्ना सदस्य कम्पनी तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
हाल केही जलविद्युत् प्रवद्र्धक कम्पनीहरूले नियामकीय प्रक्रियामा भएको ढिलाइका कारण आईपीओ निष्कासन समयमै हुन नसकेको अवस्थालाई आधार बनाएर स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने सम्भावनाबारे छलफल गरिरहेको विषयप्रति संस्थाले ध्यानाकर्षण जनाएको हो ।

इप्पानले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) ले स्थानीय प्रभावित समुदायलाई आयोजनाको १० प्रतिशत साधारण सेयर उपलब्ध गराउने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सो व्यवस्थाको मूल उद्देश्यअनुसार अंकित मूल्यमै सेयर उपलब्ध गराइनुपर्ने धारणा व्यक्त गरेको छ ।
संस्थाका अनुसार जलविद्युत् आयोजना केवल व्यावसायिक लगानीको विषयमात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको माध्यम पनि हो । आयोजना निर्माणका क्रममा स्थानीयले जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने तथा विभिन्न प्रकारका असुविधा व्यहोर्ने भएकाले उनीहरूलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले स्थानीय सेयरको व्यवस्था गरिएको हो ।

इप्पानले स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा बिक्री गरिएमा प्रभावित समुदायको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर बन्ने तथा आयोजना र स्थानीय समुदायबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ ।

संस्थाको धारणा अनुसार अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय बासिन्दा आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना सुदृढ हुने तथा आयोजना निर्माण र सञ्चालनका क्रममा देखिने सामाजिक विवाद तथा अवरोध पनि कम हुनेछन् । यसले स्थानीयको आर्थिक सशक्तीकरण, क्षेत्रीय विकास र सामाजिक सद्भाव अभिवृद्धिमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास इप्पानले व्यक्त गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सरकार, नियामक निकाय तथा प्रवद्र्धक कम्पनीहरूलाई स्थानीय प्रभावित समुदायको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र समुदायबीचको विश्वासलाई प्राथमिकतामा राख्दै स्थानीय सेयर अंकित मूल्यमा नै उपलब्ध गराउने व्यवस्था यथावत कायम राख्न आग्रह गरेका छन् ।

साथै, इप्पानले जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रिया थप सरल, पारदर्शी र समयबद्ध बनाउन आवश्यक सुधार गर्न सरकार र नियामक निकायसँग माग गरेको छ । संस्थाले आईपीओ निष्कासनमा हुने ढिलाइका कारण आयोजनाहरूले भोगिरहेका समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी र छिटो प्रक्रिया विकास गर्नुपर्नेमा जोड दिएको छ ।