सुनकोशीमा खसेको कारमा सवार चार जनामध्ये दुईको पहिचान खुल्यो


रामेछाप।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुमध्ये दुई जनाको पहिचान खुलेको छ। अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेको छ भने खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटअन्तर्गत प्रयोग हुने कार एकआपसमा ठोक्किएका थिए। ठक्करको प्रभावले कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा तथा स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा बेपत्ता भएका छन्। उनीहरूसँगै कारमा रहेका नाम, थर र ठेगाना नखुलेका अन्य दुई जना पनि सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको खुलेको छ। यसअघि प्राप्त प्रारम्भिक सूचनामा चालकलाई मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर बताइए पनि पछिल्लो विवरणअनुसार कार सरकारी कार्यालयको प्रयोगमा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ। बसलाई समेत खाङसाङ प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित छन्। सुनकोशी नदीमा खसेको कार र बेपत्ता चारै जनाको खोजी कार्य जारी रहेको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।