नेवारी भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तासम्म जीवन्त रूपमा हस्तान्तरण गर्ने उद्देश्य बोकेको मिस नेवाः नेपाल केवल सौन्दर्य प्रतियोगिता होइन, सांस्कृतिक पहिचानको उत्सव पनि बनेको छ।
त्यसैको निरन्तरतास्वरूप नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शो सम्पन्न भएको छ। नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगिताको १९औं संस्करणअन्तर्गत सम्पन्न ट्यालेन्ट शोमा १७ प्रतिस्पर्धीले आफूभित्र लुकेका सिर्जनात्मक प्रतिभा प्रस्तुत गरे। कसैले नेवारी गीतमा मनमोहक नृत्य गरे, कसैले गायनमार्फत सांगीतिक क्षमता देखाए। चित्रकला, बाँसुरी वादन, कुमारी नृत्य र वक्तृत्वकलासमेत प्रस्तुत गर्दै उनीहरूले निर्णायक मण्डलसंगै उपस्थित अभिभावकको मन जित्ने प्रयास गरे। कार्यक्रममा अधिकांश प्रतिस्पर्धीले नेवारी गीतमा आधारित नृत्य प्रस्तुत गरेका थिए।
यस संस्करणमा सारिका महर्जन, तिसा शाक्य, निश्ला महर्जन, हिमानी प्रधान, प्रिस्टिन अवाले, रेजिना बज्राचार्य, दुर्गा देउला, सबनम शाक्य, सोनिया महर्जन, दृष्टि महर्जन, कल्शा अवाले, मिकिशा महर्जन, जेस्सिका श्रेष्ठ, करुणा चक्रधर, शिक्षा महर्जन, अनुस्का नकर्मी र लक्की महर्जन प्रतिस्पर्धामा छन्। उनीहरूको प्रतिभा मूल्यांकनका आधारमा मिस नेवाः मिस ट्यालेन्ट उपाधि छनोट गरिएको आयोजकले जनाएको छ। उपाधि विजेताको घोषणा आगामी भदौ ६ गते हुने अन्तिम स्पर्धाका दिन गरिनेछ।
नेप्लीज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष एवं मिस नेवाःकी आयोजक हेमा मानन्धरले प्रतियोगिता केवल उपाधि जित्ने माध्यम नभई नेवारी भाषा, कला, परम्परा र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा त्यसको हस्तान्तरण गर्ने अभियान भएको बताइन्। ट्यालेन्ट शो हेमा मानन्धरको सभापतित्व तथा प्रोफेसर डा. बिमला शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपप्राचार्य जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, सञ्चारकर्मी, प्राध्यापक, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित र नृत्य प्रशिक्षक गंगा महर्जन निर्णायक मण्डलमा थिए।
आगामी भदौ ६ गते हुने अन्तिम प्रतिस्पर्धा रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षण तथा सकिना महर्जन, प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको सहसंयोजन र कृषा महर्जनको संयोजनमा सम्पन्न हुने आयोजकले जनाएका छन्।











प्रतिक्रिया