परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

नेपाल–मंगोलिया सम्बन्ध थप सुदृढ बनाउन सहकार्य आवश्यक: परराष्ट्रमन्त्री खनाल


काठमाडौं ।

नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातार र परराष्ट्रमन्त्री शिशिर खनालबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।

परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मंगोलियाको अनुभवबाट सिक्न सक्ने बताउनुभयो । उहाँले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा दुई मुलुकबीच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री खनालले नेपाल र मंगोलियाले भूपरिवेष्टित मुलुकहरूको अधिकार तथा हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताउनुभयो । उहाँले मंगोलियाले आफ्ना छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा विश्वस्तरमा पहिचान बनाउन सफल भएको भन्दै त्यसको प्रशंसा गर्नुभयो ।

भेटवार्तामा नेपाल र मंगोलियाबीचको द्विपक्षीय तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावित उपायहरूबारे समेत छलफल भएको थियो। मन्त्री खनालले नेपालको नयाँ सरकार मंगोलियासँग आध्यात्मिक साझेदारका रूपमा सम्बन्ध थप सुदृढ गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले दुई मुलुकबीच विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

भेटवार्तामा पूर्वप्रधानमन्त्री जन्दानशातारले नेपाल र मंगोलियाबीच रहेका भौगोलिक समानताहरूको चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा मंगोलिया र नेपालजस्ता साना मुलुकहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल र मंगोलियाबीच साझा बौद्ध मूल्य–मान्यता तथा संस्कृति रहेको उल्लेख गर्दै दुवै मुलुक एक–अर्काका आध्यात्मिक छिमेकी रहेको बताउनुभयो । उहाँले बौद्ध धर्मका मूल्य–मान्यता, संस्कृति तथा नेपालमा चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलिया इच्छुक रहेको जानकारी दिनुभयो ।