निर्माता तथा गीतकार अविरल थापाले फरक अवधारणामा नयाँ तीज गीत दिक्क लाईसक्यो सार्वजनिक गरेका छन्। गीतले आधुनिक महिलाको भोगाइलाई व्यग्यात्मक र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ।
गीतमा वर्तमान समयका महिलाको सामाजिक मनोविज्ञान र दैनिक जीवनका अनुभवलाई रमाइलो ढंगले चित्रण गरिएको छ। गीतले विभिन्न पेशामा आबद्ध श्रीमान्का कारण श्रीमतीले भोग्नुपरेका विवशता र मानसिक अवस्थालाई ठट्यौलो शैलीमा प्रस्तुत गर्छ। जग्गा कारोबारीदेखि डक्टर, पत्रकार, पसले, वैदेशिक रोजगारीमा रहेका, शेयर कारोबारी, सरकारी कर्मचारी, सेना र फिल्मकर्मी श्रीमानले परिवारलाई पर्याप्त समय दिन नसक्दा श्रीमतीको मनोदशामा पर्ने प्रभावलाई गीतका शब्दले समेटेका छन्।
गीतको सबैभन्दा विशेष पक्ष भने यसको भिडियो निर्माण शैली बनेको छ। नेपालमा सम्भवतः पहिलोपटक एज रिभर्सड कास्टिङको अवधारणालाई भिडियोमा प्रयोग गरिएको छ। वयस्क महिलाले निर्वाह गर्ने पात्रहरूमा स–साना बालिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा नेपा डान्स एकेडेमीका १६ बालिकाले विवाहित महिलाको भेषमा अभिनय र नृत्य गरेका छन्। हाल छायांकनमा रहेको फिल्म जुबाकी लेखक वर्षा पौडेलले भिडियोको निर्देशन गरेकी हुन् भने रोहिया महर्जनको कोरियोग्राफी रहेको छ।
गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको छ भने संगीत किरण भुसालले दिएका छन्।











प्रतिक्रिया