काठमाडौं ।
अमेरिकाको अध्यागमन तथा सीमा सुरक्षा कारबाहीलाई तीव्र बनाइरहेका बेला अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको ‘Worst of the Worst’ (खराबमध्येका खराब) मानिएका करिब ५ हजार आपराधिक पृष्ठभूमि भएका गैरनागरिकको नयाँ सूचीमा १० नेपाली र ३२ जना नेपालीभाषी भूटानी (ल्होत्साम्पा) परेका छन्।
उक्त सूचीमा समावेश व्यक्तिहरूमाथि यौन शोषण, लागुऔषध कारोबार, ठगी, डकैती, हिंसात्मक आक्रमण, अपहरण, बालबालिकाविरुद्धका अपराधलगायत गम्भीर अभियोग रहेको अमेरिकी अधिकारीहरूको दाबी छ। सूचीमा परेकामध्ये कतिपय पक्राउ परिसकेका छन् भने केहीविरुद्ध अध्यागमन प्रक्रिया र निष्कासन (डिपोर्टेसन) सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
प्राप्त विवरणअनुसार यसपटकको सूचीमा १० नेपाली र ३२ नेपालीभाषी भूटानी परेका छन्। यसअघि सार्वजनिक गरिएको सूचीमा सात नेपाली मात्रै समावेश थिए। नयाँ अद्यावधिकसँगै नेपाली मूलका व्यक्तिहरूको संख्या बढेको देखिएको छ।
नेपालीभाषी भूटानीहरू अधिकांश सन् १९९० को दशकमा भूटानबाट विस्थापित भएर नेपालका शरणार्थी शिविरमा बसेपछि तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका ल्होत्साम्पा समुदायका सदस्य हुन्। पछिल्ला वर्षहरूमा आपराधिक मुद्दामा दोषी ठहरिएका केहीलाई अमेरिकाले निष्कासन गरेपछि उनीहरूको नागरिकता र पुनर्स्थापनाको विषय फेरि जटिल बनेको छ।
अमेरिकी प्रशासनले हिंसात्मक तथा गम्भीर अपराधमा संलग्न विदेशी नागरिकलाई प्राथमिकताका साथ पक्राउ, हिरासत र निष्कासन गर्ने नीति जारी राखेको जनाएको छ। मानवअधिकार समूहहरूले भने निष्कासनपछि राज्यविहीन (stateless) बन्न सक्ने नेपालीभाषी भूटानीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।











प्रतिक्रिया