हिजो के भएको हो सुस्तामा?


काठमाडौँ।

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सीमा सिमाङ्कन नभएको स्थानमा अस्थायी बाँध निर्माण र माटो सम्याउने विषयलाई लिएर नेपाल–भारत सीमामा आइतबार (हिजो) विवादको स्थिति देखियो।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली सीमा क्षेत्रमा पुगेपछि स्थानीयले विरोध गरेका थिए भने सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतीय टोलीलाई फिर्ता पठाएको छ।

गृह मन्त्रालयका अनुसार सुस्ता क्षेत्रमा नेपाल–भारत सीमा हालसम्म सिमाङ्कन भएको छैन। सिमाङ्कन नभएसम्म दुवै देशबीच उक्त क्षेत्रलाई ‘स्टाटस–को’ (यथास्थिति) मा राख्ने द्विपक्षीय सहमति रहेकाले दुवै पक्षको आ–आफ्नै दाबी रहेको छ।

मन्त्रालयका अनुसार साउन १५ गते बिहान करिब १०:४० बजे नारायणी नदीको बाँध क्षेत्रमा भारतीय पक्षले ‘स्टाटस–को’ मानेको भेलरको रुखदेखि पुरानो बाँधतर्फ पर्ने नेपालतर्फको जमिनमा करिब २०० स्थानीय भेला भई नदीको बहाव बढे बाढी आउन सक्ने भन्दै कोदालो र फरुवाको प्रयोग गरेर बाँध निर्माणको तयारी गरेका थिए।

त्यसै दिन दिउँसो १२:३० बजे जेसीबी प्रयोग गरेर नजिकैबाट माटो ल्याई अस्थायी बाँध निर्माण भइरहेका बेला सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीका टोलीले पुगेर स्थानीयलाई सम्झाइबुझाइ गरेको थियो।

त्यही क्रममा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला अन्तर्गत बगाहास्थित भारतीय एसएसबी २१ बटालियनका निमित्त कमान्डेन्ट सुरेश शर्माको नेतृत्वमा पुगेको टोलीले ‘स्टाटस–को’ कायम रहने गरी नेपालतर्फ भइरहेको काममा अवरोध नरहेको जानकारी गराएको मन्त्रालयले जनाएको छ। त्यसपछि भेलरको रुखबाट पश्चिमतर्फ नेपालतर्फ करिब २५ मिटर जमिन छोडेर अस्थायी बाँध निर्माणको काम अघि बढाइएको थियो।

पछि भारतीय टोली फर्किएपछि स्थानीयले भेलरको रुख नजिक पाँच–छ वटा ट्र्याक्टर माटो थुपारेका थिए। सोही माटो साउन १७ गते अपराह्न सशस्त्र प्रहरी बलको बिओपी सुस्ताका टोली र स्थानीय अगुवासहित सात जनाको उपस्थितिमा सम्याइएको स्थानीयले बताएका छन्।

तर त्यसको केही समयपछि भारतीय एसएसबीका करिब १५ जना सुरक्षाकर्मी सिभिल पोसाकमा आएर सोही स्थानमा थुपारिएको माटो पुनः सम्याउन खोजेको विषयमा समाचार सार्वजनिक भएपछि स्थानीयमा आक्रोश फैलिएको थियो।

त्यसपछि करिब २५० स्थानीय भेला भएर विरोधमा उत्रिएका थिए। स्थानीयबाट जानकारी पाएलगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर भारतीय एसएसबीको टोलीलाई तत्काल फिर्ता पठाएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हाल उक्त क्षेत्रको अवस्था सामान्य छ। उनले स्थानीय तहमा सशस्त्र प्रहरीमार्फत भारतीय समकक्षी सुरक्षा निकायसँग तथा प्रमुख जिल्ला अधिकारीमार्फत भारतीय जिल्ला प्रशासनसँग समन्वय भइरहेको र घटनाबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको बताए।