नेपालले फेरि एकपटक आफ्नो गौरव गुमाएको छ । विश्व पर्वतारोहण क्षेत्रमा नेपाली पहिचानलाई नयाँ उचाइमा पु¥याउने विश्व कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा निधन हुनु केवल एउटा व्यक्तिको मृत्यु होइन, यो नेपालका लागि साहस, नेतृत्व र असम्भवलाई चुनौती दिने एउटा युगको अन्त्य हो । उनीसँगै ६ नेपाली र ४ विदेशी आरोहीको ज्यान जानुले विश्व पर्वतारोहण समुदायलाई नै शोकमा डुबाएको छ । निर्मल पुर्जा केवल हिमाल चढ्ने व्यक्ति थिएनन्, उनी एउटा सोच थिए । असम्भव भन्ने केही हुँदैन भन्ने विश्वासका प्रतीक । सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर उनले मानव क्षमताको नयाँ परिभाषा लेखे । जहाँ अरूले आठ वर्षभन्दा बढी समय लगाएका थिए, त्यहाँ उनले इच्छाशक्ति, अनुशासन र साहसले इतिहास बदलिदिए । उनको यो उपलब्धिले विश्वलाई नेपाली पर्वतारोहीहरूको क्षमता चिनायो । नेटफ्लिक्समा प्रसारण भएको ‘१४ पिक्स ः नथिङ इज इम्पसिबल’ वृत्तचित्रले संसारभरका लाखौं मानिसलाई प्रेरित ग¥यो । यसले नेपाललाई केवल सगरमाथाको देशका रूपमा होइन, विश्वस्तरीय साहसिक नेतृत्व जन्माउने भूमिका रूपमा स्थापित गरायो ।
तर विडम्बना, यस्ता विश्वस्तरीय व्यक्तित्वलाई नेपालले जीवित रहँदा कति सम्मान गर्न सक्यो ? राज्यले उनीजस्ता व्यक्तित्वलाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्ने, उनीहरूको अनुभवलाई नीति निर्माणमा उपयोग गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गराउने दीर्घकालीन सोच विकास गर्न सकेको देखिँदैन । हाम्रो प्रवृत्ति सफलता हुँदा ताली बजाउने र निधनपछि श्रद्धाञ्जलि दिनेमा सीमित छ । ब्रोड पिक दुर्घटनाले अर्को गम्भीर प्रश्न पनि उठाएको छ । हिमाल नेपालका लागि केवल गौरवको विषय मात्र होइन, अर्थतन्त्रको पनि महत्वपूर्ण आधार हो । तर जोखिम व्यवस्थापन, उद्धार क्षमता, अन्तर्राष्ट्रिय समन्वय तथा हिमाली सुरक्षा प्रणाली अझै पनि चुनौतीपूर्ण अवस्थामा छन् । जलवायु परिवर्तनसँगै हिमपहिरो, हिमताल विस्फोट र चरम मौसमी जोखिम बढिरहेका बेला हिमाली पर्यटनलाई सुरक्षित बनाउने विषय अब विलम्ब गर्न नमिल्ने राष्ट्रिय प्राथमिकता बन्नुपर्छ ।
निर्मल पुर्जाले जीवनभर नेपाली शेर्पा, गाइड र हिमाली समुदायको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न अथक प्रयास गरे । उनले बारम्बार देखाए कि नेपालीहरू केवल सहयोगी होइनन्, विश्व पर्वतारोहणका नेतृत्वकर्ता पनि हुन् । यो आत्मविश्वास नै उनको सबैभन्दा ठूलो विरासत हो । आज निम्स दाइ शारीरिक रूपमा हामीमाझ छैनन् तर उनले छोडेको प्रेरणा, विश्व कीर्तिमान र साहसको दर्शन पुस्तौँसम्म जीवित रहनेछ । उनको जीवनले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो, सीमितता मानिसको मनमा हुन्छ, इच्छाशक्तिमा होइन ।
अब राज्य, पर्यटन क्षेत्र र सम्पूर्ण नेपाली समाजले उनको योगदानलाई केवल शोक वक्तव्यमा सीमित नराखी संस्थागतरूपमा सम्मान गर्ने समय आएको छ । अनुसन्धान, पर्वतारोहण सुरक्षा, उद्धार प्रणाली, युवा प्रेरणा र हिमाली नेतृत्व विकासमा उनको नाममा स्थायी कार्यक्रम स्थापना गर्नु नै सच्चा श्रद्धाञ्जलि हुनेछ । निर्मल ‘निम्स दाइ’ पुर्जा अब एउटा नाम मात्र होइनन्, नेपाली साहसको अमर प्रतीक हुन् । उनको भौतिक यात्रा टुंगिएको होला, तर उनले संसारलाई सिकाएको सन्देश, ‘असम्भव भन्ने केही हुँदैन’ सधैँ जीवित रहनेछ ।











प्रतिक्रिया