अनसनरत नर्सका मागप्रति सरकार संवेदनशील, आज पनि वार्ताको प्रयास हुने-स्वास्थ्यमन्त्री मेहता


काठमाडौं।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमरण अनसनमा रहेकी नर्स ज्योति रानाभाटले उठाएका माग र उनको स्वास्थ्य अवस्थाप्रति सरकार संवेदनशील रहेको बताएकी छन्।

सुनसरीमा रहेकी मन्त्री मेहताले सोमबार सामाजिक सञ्जालमार्फत सरकार र रानाभाट पक्षबीच आज पनि पुनःवार्ता गर्ने योजना रहेको जानकारी दिएकी हुन्। उनले मन्त्रालयले वार्ता तथा संवादमार्फत समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको उल्लेख गरेकी छन्।

मन्त्री मेहताका अनुसार मन्त्रालयको वार्ता समिति, अतिरिक्त स्वास्थ्य सचिवहरू, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक रानाभाट पक्षसँग संवाद र समन्वयको प्रयास गरिएको छ। उनले प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचन समेत वार्ताका लागि निरन्तर प्रयासरत रहेको जानकारी दिएकी छन्।

मन्त्री मेहताले आफू गत साता सुनसरीमा भएको घटनापछि त्यहाँको व्यवस्थापन, पीडित परिवारसँगको समन्वय तथा स्थानीय अवस्था सामान्य बनाउन सुनसरीमै रहेको उल्लेख गर्दै नर्स रानाभाटका मागका विषयमा सकारात्मक निष्कर्ष निकाल्न सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गरेकी छन्।

यता, विगत पाँच दिनदेखि आमरण अनसनमा रहेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। सरकार र रानाभाट पक्षबीच वार्तामार्फत समाधान खोज्ने प्रयास जारी रहेकाले त्यसको परिणामलाई चासोका साथ हेरिएको छ।