नेपालमा मोरक्को राष्ट्रिय दिवस मनाइयो

दुई देशबीच नयाँ अवसरहरू खोज्नुपर्नेमा जोड


काठमाडौँ।

मोरक्कोका राजा मोहम्मद छैटौँको २७औँ गद्दी आरोहण दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय दिवस मनाइएको छ । नेपालस्थित मोरक्कोको मानार्थ महावाणिज्य दूतावासले आइतबार काठमाडौँको थापाथलीस्थित कार्यालय परिसरमा राष्ट्रिय झण्डा फहराउँदै विशेष समारोह आयोजना गरेको हो ।

कार्यक्रममा मोरक्कोका राजदूत मोहम्मद मलिकी तथा नेपालका लागि मोरक्कोका मानार्थ महावाणिज्यदूत मेघा चौधरीको सहभागिता रहेको थियो । समारोहमा नेपाल र मोरक्कोका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रममा कूटनीतिक प्रतिनिधि, सरकारी अधिकारी, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानार्थ महावाणिज्यदूत चौधरीले नेपाल–मोरक्को सम्बन्धलाई व्यापार, पर्यटन, संस्कृति तथा जनस्तरीय सम्पर्कका माध्यमबाट थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक तथा सांस्कृतिक सहकार्य विस्तारका लागि नयाँ अवसरहरू खोज्नुपर्नेमा जोड दिनुभयो । मेघा चौधरीलाई सन् २०२६ मा मोरक्कोका लागि नेपालमा मानार्थ महावाणिज्यदूत नियुक्त गरिएको हो । उहाँको नियुक्तिपछि नेपाल र मोरक्कोबीच व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप गति दिने अपेक्षा गरिएको छ ।

यसैबीच, ललितपुरस्थित ‘द प्लाजा’मा मोरक्कोको कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विशेष प्रदर्शनीसमेत आयोजना गरिएको छ । प्रदर्शनीमा मोरक्कोको सांस्कृतिक पहिचान, कला तथा पर्यटनसँग सम्बन्धित सामग्री प्रस्तुत गरिएको आयोजकले जनाएको छ । मानार्थ महावाणिज्यदूत चौधरीका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई सरकारी तहमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्न सहयोग पु¥याउनेछ ।
हालै नेपालका लागि मोरक्कोको कन्सुलर सेवामा पनि सुधारको पहल अघि बढाइएको छ । नेपाली नागरिकले मोरक्कोको भिसा आवेदनका लागि नयाँ दिल्ली पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्दै नेपालमै आवेदन प्रक्रिया सहज बनाउन भिसा सहजीकरण सेवा (भीएफएस) ग्लोबलसँग सहकार्य गर्ने तयारी भइरहेको चौधरीले जानकारी दिनुभएको छ । यसबाट नेपाल–मोरक्कोबीचको पर्यटन तथा जनस्तरीय आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । मोरक्कोले हरेक वर्ष जुलाई ३० मा राजा मोहम्मद छैटौँको सन् १९९९ मा भएको गद्दी आरोहणको स्मरणमा गद्दी आरोहण दिवस मनाउँदै आएको छ ।

सन् २०२६ मा यस अवसरले राजा मोहम्मद छैटौँको शासनकालको २७औँ वर्ष पूरा भएको जनाउँछ । नेपाल र मोरक्कोबीच व्यापार, पर्यटन, कृषि, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा सहकार्यका सम्भावना बढ्दै गएको सन्दर्भमा यस वर्षको गद्दी आरोहण दिवसले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ । हालै नेपालस्थित मोरक्कोका मानार्थ महावाणिज्यदूत र म्यानमारका राजदूतबीच भएको भेटवार्तामा पनि कृषि, व्यापार र स्वास्थ्य क्षेत्रमा पारस्परिक सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।