काठमाडौँ।
राजधानी उपत्यकांमा केही वर्षयता सडकमा एक्लै हिँड्ने महिला, वृद्धवृद्धा र कमजोर देखिएका पैदल यात्रुलाई लक्षित गरेर लुटपाट गर्ने गिरोह फेरि सक्रिय बन्दै गएको छ । ‘यो बाटो कता जान्छ ?’ भन्दै सामान्य प्रश्नबाट कुराकानी सुरु गर्ने र केही सेकेन्डमै पीडितलाई लछारपछार पारेर सुनका सिक्री, गहना, नगद तथा मोबाइल लुटेर फरार हुने यो शैलीले प्रहरीलाई लामो समयदेखि चुनौती दिँदै आएको थियो ।
यही गिरोहको नेतृत्व गरिरहेको आरोप लागेका कर्मा तामाङ शनिवार राति काठमाडौँको बूढानीलकण्ठ–१३ चुनिखेल गाम्चामा प्रहरीको गोली लागेर पक्राउ परेपछि राजधानीमा सक्रिय संगठित लुटेरा सञ्जालको अर्को पाटो बाहिर आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार राति १०ः२५ बजे विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो । त्यसपछि पनि उनी भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाउँदा उनको खुट्टामा गोली लागेको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले प्रहरीले आत्मरक्षाका लागि अन्तिम विकल्पका रूपमा गोली चलाउनुपरेको स्पष्ट पार्दै राजधानीमा सक्रिय यस्ता संगठित लुटेरा गिरोहमाथि विशेष अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका कर्मा तामाङ बाहिरबाट हेर्दा सामान्य सवारी चालक देखिन्थे । तर प्रहरीको अभिलेखमा भने उनी लामो समयदेखि डाँका, चोरी तथा लुटपाटमा संलग्न ‘नोटोरियस’ अपराधीका रूपमा चिनिएका थिए ।
२०७९ सालदेखि अहिलेसम्म उनी १० पटक पक्राउ परिसकेका छन् । प्रत्येक पटक पक्राउ परेपछि विभिन्न कानुनी प्रक्रिया पूरा गरेर बाहिर निस्कने र पुनः संगठित अपराधमा फर्किने उनको शैलीले प्रहरीलाई निरन्तर चुनौती दिइरहेको थियो । प्रहरीका अनुसार कर्मा कुनै आकस्मिक अपराधी होइनन् । उनले अपराधलाई व्यवस्थित ‘नेटवर्क’का रूपमा सञ्चालन गरिरहेका थिए ।
प्रहरी अनुसन्धानले देखाएको सबैभन्दा रोचक पक्ष गिरोहको अपराध गर्ने शैली हो । सो गिरोहले ‘यो बाटो कता जान्छ ?’ भन्ने प्रश्नपछि सुरु हुन्थ्यो लुटपाट । गिरोहका सदस्यहरू मोटरसाइकलमा विभिन्न स्थानमा पुग्थे । सडकमा एक्लै हिँडिरहेका महिला, वृद्धवृद्धा वा कमजोर देखिएका व्यक्तिलाई लक्षित गरी उनीहरूले पहिलो प्रश्न सोध्थे, ‘यो बाटो कता जान्छ ?’
पीडितले बाटो देखाउन वा कुरा गर्न सुरु गरेलगत्तै उनीहरू अचानक झम्टिन्थे । केहीले हात समात्थे, केहीले धकेल्थे, अर्काले सुनको सिक्री वा गहना तान्थे । केही सेकेन्डमै मोटरसाइकलमा चढेर फरार हुने उनीहरूको शैलीले धेरै घटनामा पीडितले प्रतिकार गर्ने अवसर नै पाउँदैनथे ।
यदि कसैले प्रतिकार गरे वा भिड जम्मा हुन थाल्यो भने बल प्रयोग गर्न छुट्टै सदस्य तयारी अवस्थामा बस्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार यो गिरोहमा चार जनाको स्पष्ट भूमिका बाँडिएको हुन्थ्यो । गिरोहका मुख्य योजनाकार कर्मा तामाङ थिए भने काभ्रेका प्रतिमान गोले मोटरसाइकल राइडरको भूमिकामा थिए । उनी घटनास्थलसम्म समूहलाई पु¥याउने र लुटपाटपछि छिटो भगाउने जिम्मेवारीमा रहने गर्थे ।
पासाङ घिसिङ पीडितलाई नियन्त्रण गर्ने काममा सक्रिय हुन्थे भने आले गुरुङ बल प्रयोगका लागि ‘ब्याकअप’का रूपमा मोटरसाइकलसहित केही दूरीमा तयारी अवस्थामा बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
लुटपाटपछि चोरी भएका सुनका गहना वनेपास्थित सुन पसल सञ्चालन गर्दै आएका मनोज तामाङलाई बिक्री गर्ने गरेको रहस्यसमेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले तामाङलाई पनि पक्राउ गरी सकेको छ ।
वैशाखदेखि साउनसम्म पाँच लुटपाट
काठमाडौँ प्रहरीका अनुसार यो समूह २०८३ वैशाखयता कम्तीमा पाँचवटा लुटपाट घटनामा प्रत्यक्ष संलग्न देखिएको छ ।
असार १३ गते काठमाडौँको शान्तिनगरमा दुईवटा घटना, असार १५ गते नरेफाँट र काभ्रेको वनेपामा भएका लुटपाट तथा साउन ७ गते धापासीमा सुनको सिक्री लुटिएको घटनामा यही समूहको संलग्नता खुलेको प्रहरीले जनाएको छ । एसएसपी घिमिरेका अनुसार काभ्रेबाट काठमाडौँसम्म उनीहरूले शृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएका थिए ।
यो गिरोहका सदस्यहरूको आपराधिक इतिहास पनि लामो देखिएको छ । प्रतिमान गोले डाँका चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला ‘जेनजी आन्दोलन’का क्रममा फरार भएका थिए । पछि इलाका प्रहरी कार्यालय वनेपाले पुनः पक्राउ गरी जेल चलान गरेको थियो । कैद पूरा गरेर बाहिरिएपछि उनी फेरि लुटपाटमै फर्किएको प्रहरीले जनाएको छ ।
त्यस्तै मुख्य आरोपित कर्मा तामाङ पनि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा स्वयम्भु प्रहरीको हिरासतबाट भाग्न सफल भएका थिए । त्यसपछि उनी लामो समय प्रहरीको निगरानीबाट बाहिर रहेर पुनः गिरोह सञ्चालन गरिरहेको प्रहरीको निष्कर्ष छ ।
कर्मा समूह पक्राउ परेसँगै राजधानीमा लुटपाट गर्ने सबै गिरोह समाप्त भएका भने छैनन् । प्रहरी स्रोतका अनुसार काठमाडौँ उपत्यकामा अझै पनि यस्ता संगठित समूह सक्रिय छन्, जसले मोटरसाइकल प्रयोग गरेर चेन स्न्याचिङ, मोबाइल लुटपाट, नगद खोस्ने तथा एक्ला यात्रुलाई लक्षित गरी अपराध गर्दै आएका छन् । कतिपय अपराधीहरू विगतमा पटक–पटक पक्राउ परे पनि विभिन्न कारणले पुनः अपराधमा फर्किने गरेको प्रहरीको विश्लेषण छ ।
यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले नयाँ रणनीति अपनाएको छ । एसएसपी घिमिरेका अनुसार लामो समयदेखि विभिन्न अपराधमा संलग्न रहेर प्रहरी निगरानीबाट उम्किन सफल भएका अपराधीहरूको विस्तृत सूची तयार गरिएको छ ।
त्यसका आधारमा विशेष टास्कफोर्स गठन गरी संगठित लुटेरा, डाँका, चेन स्न्याचर, फरार अपराधी तथा पुनः अपराधमा फर्किएका व्यक्तिमाथि लक्षित अपरेसन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब प्रहरीले घटना भएपछि मात्र अनुसन्धान गर्ने शैलीभन्दा अघि बढेर अपराध हुन नदिन ‘इन्टेलिजेन्स–ड्रिभेन पोलिसिङ’लाई प्राथमिकता दिएको छ ।
अपराधीभन्दा एक कदम अघि पुग्ने रणनीति
प्रहरी अधिकारीहरूका अनुसार राजधानीमा अपराधको स्वरूप परिवर्तन हुँदै गएको छ । अहिले अधिकांश लुटपाट केही सेकेन्डमै सम्पन्न हुने, मोटरसाइकल प्रयोग हुने र समूहगत रूपमा योजना वनाएर गरिने भएकाले परम्परागत गस्ती मात्रै पर्याप्त नहुने अवस्था छ ।
यसैले पुराना अपराधीको प्रोफाइलिङ, उनीहरूको गतिविधिको निगरानी, डिजिटल सूचना विश्लेषण, गोप्य सूचनाको संकलन र लक्षित अपरेसनलाई जोड दिइएको प्रहरीले जनाएको छ ।
प्रहरीको विश्वास छ, राजधानीमा वर्षौंदेखि आतंक मच्चाउँदै आएका यस्ता संगठित गिरोहमाथि लगातार कारबाही अघि बढे अपराध नियन्त्रणमा उल्लेख्य सुधार आउनेछ । तर सुरक्षा विज्ञहरू भने पक्राउसँगै मुद्दाको प्रभावकारी अनुसन्धान, शीघ्र अभियोजन र दोषीलाई कानुनी दायरामा टिकाइराख्न सके मात्रै यस्ता ‘नोटोरियस’ अपराधीहरू पुनः सडकमा फर्किने चक्र तोड्न सकिने बताउँछन् ।











प्रतिक्रिया