काठमाडौँ।
पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८ हजार ५१ मिटर उचाइको विश्वको १२ औँ अग्लो शिखर ‘ब्रोड पिक’मा बिहीवार गएको हिमपहिरोमा परी ज्यान गुमाएका प्रख्यात आरोही निर्मल पुर्जाको शव फेला परेको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार हिमालको करिब ५ हजार ७ सय मिटर उचाइमा बेपत्ता भएको ३ दिनपछि निर्मल पुर्जाको शव फेला परेको हो । एसीपीका अनुसार निमा शेर्पा, किली पेम्बा शेर्पा तथा चिनियाँ नागरिक वाङ झोङको शव पनि फेला परिसकेको छ । उनीहरूको शव स्थलमार्गबाट क्याम्प–१ हुँदै आधार शिविरमा झार्ने कार्य जारी छ । यसअघि शुक्रवार नेपालका पुरबहादुर गुरुङ र ओमनकी नादिरा अहमद अब्दुल्लाह अल हार्थीको शव तथा अमेरिकाकी म्यालोरी गाइसको खुट्टा मात्रै फेला परेको जनाइएको थियो ।
उक्त, हिम पहिरोमा ‘निम्स’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाले ज्यान गुमाउनुभएको थियो ।
यसैबीच परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जासहित ६ जना नेपाली र आरोहण दलका अन्य सदस्यहरूको दुःखद् निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ । विज्ञप्तिमा उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना गर्दै नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली दूताबासबाट आवश्यक सहजीकरण भइरहेको जनाएको छ ।











प्रतिक्रिया