काठमाडौं–भक्तपुरमा अवैध भिओआईपी कल बाइपास गिरोहविरुद्ध प्रहरीको कारबाही, ४ पक्राउ


काठमाडौं ।

काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी) सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट भिओआईपी सञ्चालनमा प्रयोग हुने ठूलो परिमाणमा उपकरण तथा सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुरसञ्चार ऐन, २०५३ को दफा ४७(५) अन्तर्गतको कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेका उपकरण तथा सामग्री (बेटिङ एप) सँग समेत सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्दै आएका २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौं शंखरापुर नगरपालिका–१ घर भई हाल गणेशस्थान बस्ने २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर कृष्णपुर नगरपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक–४ बस्ने २१ वर्षीय जेनित झुकाल तथा भक्तपुर सूर्यविनायक–१ निवासी ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन्।

प्रहरीले प्रोशेस गुरुङको साथबाट १६ पोर्टको सिम बक्स (VoIP Device), ल्यापटप, २२ वटा एनसेल सिमकार्ड, वाइफाइ राउटर, मोबाइल फोन लगायतका सामग्री बरामद गरेको छ। उनलाई साउन १४ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

त्यस्तै, मुना श्रेष्ठको साथबाट १६ पोर्टको सिम बक्स, ल्यापटप, राउटर, २० वटा एनसेल सिमकार्ड तथा दुईवटा मोबाइल फोन बरामद भएको छ। उनलाई पनि साउन १४ गते पक्राउ गरी पाँच दिनको म्यादमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता भक्तपुरबाट पक्राउ परेका जेनित झुकालको डेराबाट ११२ पोर्टका पाँच थान सिम बक्स, आठवटा ब्याट्री, इन्भर्टर, १५३ वटा एनसेल सिमकार्ड तथा दुईवटा मोबाइल फोन बरामद गरिएको छ। उनलाई साउन १५ गते पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ।

यस्तै, कृष्ण नगरकोटी आफ्नै घरमा भिओआईपी सञ्चालनको तयारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनको साथबाट आठवटा ब्याट्री, एक थान यूपीएस, इन्टरनेट हब, ल्यापटप तथा राउटर बरामद भएको प्रहरीले जनाएको छ। उनलाई पनि सात दिनको म्यादमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार अवैध भिओआईपी कल बाइपासमार्फत अन्तर्राष्ट्रिय कललाई स्थानीय कलका रूपमा रूपान्तरण गरी राज्यलाई राजस्व नोक्सानी पुर्‍याउने तथा दूरसञ्चार प्रणालीमा असर पार्ने गतिविधि भइरहेको थियो। बरामद उपकरणहरू अनलाइन बेटिङ प्लेटफर्मसँग समेत प्रयोग भइरहेको संकेत भेटिएकाले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।