‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाद्वारा सोमबार शोक बिदा


काठमाडौं।

विश्वकीर्तिमानी नेपाली पर्वतारोही तथा ‘निम्स दाइ’का रूपमा परिचित निर्मल पुर्जाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ।

अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको हो।

गाउँपालिका अध्यक्ष भरतकुमार पुनले आइतबार जारी गरेको सूचनामा पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार मात्र नभई समग्र म्याग्दीवासीलाई गहिरो शोकमा डुबाएको उल्लेख गरिएको छ। सोही शोकका कारण अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरूमा सोमबार सार्वजनिक बिदा दिइएको जनाइएको छ।

गाउँपालिकाले पुर्जाले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरेको छ। नेपाली पर्वतारोहीहरूको क्षमता, साहस, नेतृत्व र समर्पणलाई विश्वसामु स्थापित गर्न उनले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने पनि सूचनामा उल्लेख छ।

साथै, पुर्जाको निधनले नेपाली मात्र नभई विश्व पर्वतारोहण समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको भन्दै गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।

Skip This